११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सशस्त्रका डिआईजी भन्छन्ः कपिलवस्तुका सिमामा हाम्रो बाक्लो उपस्थिति हुन्छ



मायादेवी अनलाइन, तौलिहवा ।
सिमा सुरक्षालाई मजबुत बनाउन कपिलवस्तुमा स्थापना गरिएको सशस्त्र प्रहरीको एकै दिन दुई बर्डर आउट पोस्ट भवनको उद्घाटन गरिएको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिका–५ हथिहवा र मायादेवी गाउँपालिका– ४ पिपरास्थित चाकरचौडा बर्डर आउट पोस्टको उद्घाटन गरिएको हो ।

हथिहवाको सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधान र गाउँपालिका प्रमुख निसार अहमद खाँले संयुक्त रुपमा आउट पोस्टको उद्घाटन गर्नुभएको थियो ।

यस्तै चाकरचौडा बिओपीको डिआईजी प्रधान र गाउँपालिका उपप्रमुख गीता तिवारीले गर्नुभएको थियो । दुबै कार्यक्रममा सम्बोधन गर्दै डिआईजी प्रधानले सिमा क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति हुने बताउनुभयो । उहाँले सिमा निगरानी, संरक्षण र अपराधिक क्रियाकलाप रोक्न नै बिओपीको संख्या थपिएको बताउनुभयो । उहाँले स्थापना भएको बिओपीले सिमा सुरक्षा र सिमा अपराध न्युनीकरणमा यसले मद्दत गर्ने बताउनुभयो ।

‘अन्तर्राष्ट्रिय सीमा नाकाको सुरक्षा, अबैध निकासी पैठारी, हातहतियार, लागूऔषध, मानव तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन जिल्लामा बि.ओ.पी.को स्थापना गरिएको हो’ उहाँले भन्नुभयो ।

जिल्लामा ७ बिओपी रहेकोमा ५ वटा थप भई हाल १२ वटा स्थापना भएका छन् । आगामी ३ बर्ष भित्र बिओपीको संख्या ३५बनाउने योजा रहेको प्रधानले बताउनुभयो । कार्यक्रममा शुद्धोधन गाउँपालिकाका प्रमुख निशार अहमद खाँले सुरक्षाकर्मी र जनताको सम्बन्ध नङ र मासु जस्तै हुनु पर्ने बताउनुभयो । उहाँले सुरक्षाकर्मीले पनि जनताको सेवा सुरक्षालाई नै प्रमुख आधार बनाएर अघि बढ्नु पर्ने बताउनुभयो ।

उता चाकरचौडामा भएको कार्यक्रममा मायादेवी गाउँपालिका उप प्रम्ख गीता तिवारीले सशस्त्र प्रहरीले कोरोना भाईरस नियन्त्रण र सिमा सुरक्षामा राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सिमामा सशस्त्र प्रहरीले अझै राम्रो काम गर्नु पर्ने तर सुरक्षाको नाममा जनतालाई अनावश्यक दुःख भने दिन नहुने उहाँले बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक बहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्दै समग्र जिल्लाको शान्ति सु–व्यवस्था कायम गर्न र अबैध कार्य रोक्नका साथै सीमा सुरक्षामा सशस्त्रले अहम भूमिका खेल्दै आएको बताउनुभयो ।

सो अवसरमा हथिहवाको बिओपी भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका तत्कालीन हथिहवा गाउँपालिका अध्यक्ष राजेन्द्र सिंहलाई खादा लगाएर सम्मानित गरिएको थियो । हथिहवाको १ करोड ४ लाख तथा चाकरचौडाको ८० लाखमा भवन निर्माण गरिएको हो ।

यस अघि गत शुक्रवार कृष्णगनर नगरपालिका– ६ भिल्मी र बिजयनगर गाउँपालिकामा समेत ५ डालपुरमा समेत सशस्त्र प्रहरीको बिओपीको भवन उद्घाटन गरिएको थियो । कपिलवस्तुको भारतसंग ९३ किलोमिटर सिमा जोडिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७ सोमबार ००:००  ७ : १९ बजे