११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी



रोल्पा ।
रोल्पाको माडी गाउँपालिकाले असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ। सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को पालना गरी विद्यालय खोल्न लागिएको माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा कुनै क्षेत्र विशेषमा नियमित विद्यालय सञ्चालन हुनसक्ने अवस्था भएका प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न सकिने उल्लेख छ ।

गाउँपालिका अध्यक्ष पुनका अनुसार विद्यालयमा पहिलो चरणमा पालिकाका स्वास्थ्यकर्मीहरुलाई पठाई सबै कक्षामा कोरोना सचेतना कक्षा चलाइनेछ ।

कक्षामा कोरोना रोगको जानकारी र अपनाउनुपर्ने सावधानीका बिषयमा विद्यार्थी र शिक्षकहरुलाई जानकारी दिइनेछ। त्यसपछि शिक्षक विद्यार्थीको प्रत्यक्ष उपस्थितीका पठन पाठनका कक्षा सञ्चालन गरिने पुनले बताए ।

गाउँपालिकामा आइतबार वडा अध्यक्षहरुको उपस्थितिमा गाउँ शिक्षा समितिको बैठक बसी सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको विषय र पालिकाको कोरोनाको अवस्थाको बिषयमा छलफलपछि विद्यालय खोल्ने निर्णय भएको उनले बताए ।

उनले गाउँपालिकाभित्र अहिलेसम्म एक जना पनि कोरोना संक्रमित नभएको बताए । माडी गाउँपालिकामा अहिले सामुदायिक क्वारेन्टिनमा १७ जना रहेका छन्।

प्रकाशित मिति : २९ भाद्र २०७७ सोमबार ००:००  ७ : ०३ बजे