११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तुमा घरेलु तथा साना उद्योगबाट २९ सय ३६ रोजगारी सिर्जना



मायादेवी अनलाइन, वाणगंगा ।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुबाट २९ सय ३६ जनाले रोजगार प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा घरेलु उद्योग तथा लघु उद्यम तर्फ २९ सय ३६ रोजगारी सिर्जना भएको हो । कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि कार्यालय प्रमुख राजन केसीले आफनो सेवा अवधीमा उद्यमशीलतालाई जोड दिदै २९ सय ३६ जनाले विभिन्न साना, घरेलु तथा लघु उद्योगबाट रोजगारी सिर्जना भएको जानकारी दिनुभयो ।

गएको आर्थिक वर्षको पछिल्लो समय कोभिडको प्रभाव परेपनि ब्यापार फर्म दर्तामा गतवर्षको तुलनामा बृद्धी भएको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो । सोही अवधीमा लकडाउनका कारण उद्योग दर्तामा भने केही कमी आएकोे जानकारी दिनुभयो । उहाँले आफनो सेवा अवधीमा उद्यमशीलतालाई प्रवर्धन गर्न घरेलु उद्योगलाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना भएको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुमा प्रमुखको रुपमा जिम्मेवारी सम्हालेपछि सहज र सरल रुपमा सेवा प्रवाह गर्नुभएको सेवाग्राहीले बताएका छन् । डेढ बर्षको अवधीमा उहाँले विगतको तुलनामा सेवा प्रवाहमा सहजता ल्याउदै वाणिज्य तथा उद्योग तर्फ महत्वपूर्ण सुधारका कामहरु गरेको पाइएको छ ।

कोभिडको समयमा पनि ब्यापार फर्म दर्तामा गतवर्षको तुलनामा बृद्धी भएको छ भने उद्योग दर्तामा भने केही कमी आएको छ । आ.व. ०७६/७७ मा मात्रै साना र लघु उद्योग गरी १ हजार ४७ दर्ता भएका हुन् । जिल्लामा हालसम्म ६ हजार ६ सय ७३ उद्योग दर्ता रहेको कार्यालयका प्रमुख केसीले बताउनुभयो । कार्यालयमा हालसम्म कुल १० हजार एक सय ९४ व्यवसाय दर्ता भएका छन् । उद्योग तर्फ ८९ लाख ७९ हजार ६५० र वाणिज्य तर्फ ८८ लाख ६५ हजार ६५० गरी कुल १ करोड ७८ लाख ४५ हजार ३ सय राजस्व संकलन भएको छ ।

कार्यालय प्रमुख केसीले कार्यलयको उपयुक्त ब्यवस्थापन, सेवा प्रवाहमा सहजता, गुनासोको प्रभावकारी सुनुवाई हुनुका साथै नियमित रुपमा सुचना प्रवाह गर्दै आउनु भएको थियो । कम अनुगमन हुने मायादेवी, शुद्धोधन, कृष्णनगर, शिवराज लगाएतका क्षेत्रमा संचालित बजारको नियमित अनुगमनमा तिव्रता दिइएको थियो ।

साथै जिल्लाका उद्योग वाणिज्य संघसंग प्रभावकारी समन्वय भैरहेको पनि कार्यालयले जनाएको छ । आफुहरुले उद्योगी ब्यवसायी संग निरन्तर छलफल र अन्तरकृया गरिरहेको भन्दै उद्यमशिलता विकासमा जोड गर्दै आएको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०७७ सोमबार ००:००  ५ : ४४ बजे