११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

राष्ट्रिय बाल दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले भने यस्तो



काठमाण्डौँ ।
विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस भर्चुअलरूपमा सोमबार मनाइँदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ मा दिवस मनाउन थालिएको हो । उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना ९७ प्रतिशत पुगेको छ तर टिकाउदर बढाउने चुनौती कायमै छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताएकी छन् ।

बाल दिवस २०७७ का अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानून तथा विभिन्न अन्तरराष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व भएको बताएकी हुन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रूपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७ सोमबार ००:००  ८ : १२ बजे