रोल्पा ।
जबर्जस्ती करणीका घटना अधिकांश आफन्त र छिमेकीबाट हुने गरेको पाइएको छ । प्रहरीमा आएका करणीका उजुरीमा आफन्त र छिमेकी संलग्न भएको बढी आउने गरेका छन् ।
गत आर्थिक वर्षमा रोल्पा जिल्लामा भएका १४ जबर्जस्ती करणीका घटनामध्ये सबै आफन्त, छिमेकी र चिनेजानेकाबाट भएको देखिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा दर्ता भएका १४ जबर्जस्ती करणीका उजूरीमध्ये नौ वटामा छिमेकी संलग्न भएको पाइएको छ ।
यसै गरी एउटा घटना दाजुले बहिनीलाई, एउटा फुपाजूले भदैलाई, एउटा घटना काकाले भतिजीलाई, एउटा घटना छोराले आमालाई र एउटा घटनामा अलिक टाढाको आफन्तले जबर्जस्ती गरेको देखिएको छ ।
घटनामा नातागोता, छिमेकी र परिचित व्यक्ति संलग्न हुने भएकाले पक्राउ गर्न सहज हुने गरेको प्रहरीले बताएको छ । यस्ता घटनामा संलग्न भएको उजूरी पर्नासाथ प्रहरी अभियुक्त पक्राउ गर्न सफल भएको जनाइएको छ ।
चिनेजानेकाबाटै करणी भएका घटनामा निर्दोष फस्ने सम्भावना कम हुने प्रहरीको भनाइ छ । आफन्त र चिनेजानेकाबाट हुने करणीका कारण धेरै घटना गाउँघरमै मिलापत्रमा टुङ्ग्याउने गरेको पनि पाइएको छ ।
क्षमा दिन नमिल्ने र लुकाउनै नमिल्ने भएपछि मात्रै पीडित न्यायका लागि अड्डाअदालत धाउने गरेको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य बताउँनुहुन्छ ।
प्रतिक्रिया