दाङ ।
दाङमा भदौ १४ देखि जारी भएको निषेधाज्ञा सोमबारदेखि हट्ने भएको छ । यसअघि आइतबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
सोमबारबाट बिहान ६ देखि बेलुका ७ बजेसम्म सबै किसिमका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, विकास निर्माण, सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु खोल्न पाइने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
भदौ १२ गते बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । भदौ २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले २२ देखि २८ गतेसम्म विहान ६ देखि १२ बजेसम्म बजार खोल्न पाउने गरी निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको थियो ।
सार्वजनिक यातायातका साधन भने पूर्णरुपमा बन्द गरिएको थियो । सोमबारदेखि भने सबै प्रकारका सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्न पाइने जानकारीसहित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो ।
बेलुका ७ देखि बिहान ६ बजेसम्म भने अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति आवतजावत गर्न र अनुमति लिएका बाहेक सवारी साधनसाधन सञ्चालन गर्न रोक लगाइएको रिजालले जानकारी दिए । गोष्ठी, सभा, सम्मेलन, जुलुश, भेला, महोत्सव, जात्रा र नित्य पूजा बाहेकका धार्मिक सांस्कृतिक गतिविधि गर्न भने पूर्णरुपमा रोक लगाइएको उनले बताए ।
जिल्लामा हालसम्म ८ सय ७३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए । त्यसमध्ये ७ सय ३९ जना डिस्चार्ज भएको र १ सय ३१ जना सक्रिय संक्रमित रहेको उनले जानकारी दिए । जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ ।
प्रतिक्रिया