११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

होटल साहुनीले प्रहरी हवल्दारमाथि चक्कु हानेर घाइते बनाइन्



दाङ ।
दाङमा एक होटल सञ्चालिकाले प्रहरी हवल्दारलाई चक्कु प्रहार गरी घाइते बनाएकी छिन् । जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत् प्रहरी हवल्दार ४० वर्षीय खड्गबहादुर खत्री ती महिलाको चक्कु प्रहारबाट घाइते भएका हुन् ।

टाउको र शरीरका विभिन्न ठाउँमा चक्कुको चोट लागेका प्रहरी हवल्दार खत्री राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किसकेको प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

प्रहरीका अनुसार घटना शनिबार बेलुकाको ७ बजेतिर घटेको हो । जिल्ला प्रहरी कार्यालय घोराहीको गेटअगाडि होटल गर्ने महिलाले होटेलभित्रै ती प्रहरी हवल्दारलाई शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेकी हुन् ।

‘उहाँलाई टाउको लगायत शरीरका विभिन्न भागमा चोट पटक छ,’ चन्दले भने, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि उहाँ डिस्चार्ज भइसक्नु भएको छ ।’

अहिले ती प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनेर राखिएको ती अधिकारीले बताए ।

‘मदिरा सेवनपछि प्रहरी हवल्दारले ती महिलालाई जिस्काउँदा विवाद भएको भन्ने कुरा आएको छ,’ प्रहरी स्रोतले भन्यो ।

तर, दाङ प्रहरीले घटना हुनुको विवादबारे बताएको छैन ।

मदिरा सेवनपछि आवेशमा आएर महिलाले चक्कु प्रहार गरेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ ।

‘प्रहरी हवल्दारले तिम्रो पनि श्रीमान् छैन र मेरो पनि श्रीमती छैन भन्ने कुरा गरेपछि आवेशमा आएर होटल साहुनीले चक्कु हानेको भन्ने कुरा छ,’ एक प्रहरी अधिकृतले भने ।

घाइते प्रहरी हवल्दार खत्री, चक्कु प्रहार गर्ने होटल साहुनी र अर्का एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको बुझिन आएको छ। एसपी चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७७ आइतबार ००:००  २ : ५२ बजे