काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् ।
उनले पहिरोमा परेर हराइरहेकाको खोजी प्रभावकारी बनाउँदै राहतमा जुट्न सबैमा आह्वान गरे ।
उक्त पहिरामा परेका ९ जनाको शव फेला परेको छ । अन्य २२ जना हराइरहेका छन् । पहिराले १९ घर पुरिनाका साथै २ सय २२ घर उच्च जोखिममा रहेको जनाइएको छ ।
सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानमा केही महिनादेखि पहिराबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ ।
यस्ता पहिरो जाने सम्भावित स्थानको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकको स्थानान्तरण गर्नसमेत उनले आग्रह गरे । रासस
प्रतिक्रिया