पाल्पा ।
पाल्पाको बगनासकाली गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिँदै गएपछि गाउँपालिका र मातहतका सबै कार्यालयबाट दिइने सेवा बन्द भएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ को दर्पुक र ४ नम्बर वडाका राम्दीमा समुदायस्तरका ९ जनामा कोरोना संक्रमण देखिएपछि बन्द गर्ने निणर्य भएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी दिए ।
शुक्रबार बेलुकी ६ बजेदेखि आगामी असोज ५ गते बेलुकासम्म यहाँका सबै कार्यालय बन्द रहने उनले बताए । गाउँपालिकाभित्रका सबै बजार पसल, होटल तथा रेष्टुरेण्ट बन्द हुनेछ ।
गाउँपालिकाभित्र सवारी साधन आवागमनमा समेत रोक लगाइएको छ । तर, अत्यावश्यक सवारी साधन भने चल्न पाउने बताइएको छ । कोरोना संक्रमण पुष्टि भएका समुदायमा आवश्यकता अनुसार कन्ट्याक्ट ट्रेसिङ काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
पाल्पामा कोरोना हालसम्म ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । जसमध्ये ५८९ पुरुष र ६२ जना महिला रहेका छन् । ५७० जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया