१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

लोक दाहोरी गीत प्रतिष्ठानद्धारा बाबुराम गायकलाई ८० हजार सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पुराना सर्जक बाबुराम गायकलाई आर्थिक सहयोग गरेको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ निवासी विरामी बाबुराम गायकको हालको अवस्थाबारे मायादेवी मिडियाबाट पहिलो पटक थाहा पाएपछि शुक्रबार उहाँकै घरमा गएर ८० हजार आर्थिक सहयोग गरिएको हो ।

प्रतिष्ठान केन्द्रबाट २५ हजार, प्रदेश नम्बर ५ बाट २५ हजार, प्रतिष्ठान रुपन्देहीबाट १५ हजार, प्रतिष्ठान कपिलवस्तुबाट १० हजार र प्रतिष्ठान नवलपरासीबाट ५ हजार गरी ८० हजार नगद बाबुरामलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठान प्रदेश ५ का अध्यक्ष डिल्ली नारायण पाण्डेको नेतृत्वमा रुपन्देही अध्यक्ष दिपक कार्की, कपिलवस्तु अध्यक्ष थानेश्वर अधिकारी, प्रदेश र जिल्लासमितिका कार्यसमिति सदस्यहरु, मायादेवी मिडियाका चन्द्रकान्त न्यौपाने, विमल गैरे लगायतको टोली बाबुराम गायकको अवस्था बुझ्न र प्रारम्भिक सहयोग गर्न पुगेको थियो ।

सहयोग पाएपछि दुखमा डुबेका बाबुराम मुस्कुराउनु भएको छ । उहाँले भन्नुभयो, ‘मायादेवीका सरहरु भगवान बनेर आउनु भएको रहेछ । उहाहरुले मेरो विषय बाहिर नल्याइदिनुभएको भए यही ओछ्यानमा मर्थेँ होला । यो छोरीको विचल्ली हुने थियो । धन्यबाद सरहरुलाई ।’

उहाँले भावुक हुँदै थप्नु भयो ‘प्रतिष्ठानको टोलीलाई देखेपछि औँधी खुसी भएँ । अब त म मर्दिनँ होला । साथीहरुको सहयोग मेरो लागि हिजो पनि थियो, आज पनि यति धेरै बोकेर आउनु भयो । धेरैधेरै धन्यबाद ।’ विगत ६ महिनादेखि जण्डिस र कलेजोको संक्रमणले थला परेका बाबुराम उपचार नपाएर घरभित्रै छट्पटि रहनु भएको छ ।

आर्थिक अवस्था निकै कमजोर भएका कारण बाबुरामले उपचार पाउनु सक्नु भएको थिएन । मायादेवी टिभि, अनलाइन र रेडियोले बाबुरामको बारेमा जानकारी गराएपछि कलाकारको टोलीले बाबुरामको उपचार पनि गरिदिने बताएको छ ।

प्रतिष्ठानका प्रदेश अध्यक्ष पाण्डेले तुरुन्त बाबुरामको उपचार गरिने बताउनु भयो । प्रादेशिक अस्पतालमा निशुल्क उपचार गरिने भएको हुँदा बढी पिरमा नरहन पनि सर्जक बाबुरामलाई आग्रह गर्दै छिटै नै पेटमा भरिएको पानी निकालिने उहाँले बताउनु भयो ।

प्रतिष्ठानले छोरीको पढाइलेखाइमा पनि चिन्ता नगर्न बाबुरामलाई आग्रह गरेको छ । केन्द्रले कलाकार कल्याणकारी कोषबाट सो सहयोग गरेको पाण्डेले जानकारी दिनुभयो ।

बाबुराम अहिले कान्छी छोरीको सहारामा बसिरहनु भएको छ । आन्द्राको क्यान्सर भएर श्रीमतीको २ बर्षअघि निधन भएपछि उहाँ धेरै पीडामा हुनुहुन्छ । श्रीमतीको उपचार गर्दा भएको सुकुम्बासी जग्गा पनि बेच्न पर्दा अहिले उहाँसंग सानो फुसको झुप्रोबाहेक केही पनि छैन ।

२०६ बढी गीति एल्बममा सारङ्गी धुन दिइसक्नु भएका बाबुरामजस्ता सर्जकलाई बचाउनु कलाकारको दायित्व भएको गायिका सपना गाहाले बताउनु भयो ।

सबै कलाकारले मायादेवी टोलीले धेरै राम्रो काम गरेको भन्दै धन्यबाद दिएका छन् । कलाकारहरुले बाबुरामकी कान्छी छोरी पढाइदिने, घर बनाउन पहल गर्ने लगायतका बचन दिएर फर्केका छन् । मायादेवीको खबरपछि बुबालाई सहयोग गर्छौ भन्नेहरु धेरै आउनु भएको जानकारी दिनुभयो । यसअघि मायादेवी टोलीले बाबुरामलाई खाद्धयान्ह सहयोग गरेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७७ शनिबार ००:००  ९ : १८ बजे