१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुका होटल ब्यवसायी भन्छन्ः असोज १ गतेपछि खोल्नुपर्दछ, लकडाउन मान्दैनौँ




मायादेवी अनलाइन, चार नम्बर ।
असोज १ गते बाट होटल तथा रेष्टुरेन्ट संचालन नभए लकडाउन नमान्ने व्यवसायीले चेतावनी दिएका छन् । जिल्लामा अरबौँ लगानी गरेका ब्यवसायी लामो लकडाउनका कारण तहसनहस भएको भन्दै अब असोज १ गतेबाट व्यवसाय संचालन गर्नुको विकल्प नभएको उनीहरुले बताएका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई विहिबार भेट गर्दै व्यवसायीले लकडाउन खुकुलो भएको अवस्थामा होटल तथा रेष्टुरेन्ट अझै पनि बन्द रहेका कारण अब तुरुन्त खुलाउने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

महासंचिव रविन्द्र पौडेलद्धारा पेश भएको ज्ञापन पत्रमा नेपाल सरकारका स्वास्थ्य मापण्ड अपनाई, अनिवार्य भौतिक दुरी कायम गरी व्यवसाय संचालन गर्दा कोरोनाको जोखिम नरहने उल्लेख गरिएको छ ।

होटल तथा पर्यटनमा व्यवसायीहरुले अरबौँ लगानी गरेको तर अहिले सबै डुब्ने अवस्थामा रहेको, हजारौँले रोजगारी गुमाएको, वैकको व्याज, किस्ता, घरभाडा, पानी, बिजुली पनि तिर्न सक्ने अवस्थामा नरहेको अवस्थामा अब पनि बन्द हुनु भनेको ठुलो अन्याय हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा यी कुरामा सरकारले पनि सहुलियत दिनुपर्ने माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले यसबाट आफ्नो ध्यानाकर्षण भएको भन्दै अब बस्ने जिल्ला विपद् ब्यवस्थापन समितिको वैठकमा यो कुरा छलफलको लागि लग्ने बताउनु भयो ।

होटल,घरेलु तथा लघु उद्य व्यवसाय संचालन नहुँदा चरम आर्थिक समस्या सिर्जना भएको भन्दै असोज १ गतेबाट पनि बन्द हुने हो भने छोडेर हिँड्नु पर्ने स्थिति आउनेतर्फ प्रशासनको ध्यानाकर्षण गराएको महासचिव पौडेलले बताउनु भयो । आफूहरुका माग पुरा नभए असोज १ गतेबाट लकडाउन उलंघन गरेरै ब्यवसाय संचालन गर्न व्यवसायी बाध्य हुने पौडेलको चेतावनी छ ।

बिहिवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र वाणगंगा नगरपालिकामा ज्ञापन पत्र बुझाएको र शुक्रबारदेखि अन्य स्थानिय तहमा ज्ञापन पत्र बुझाइने घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुका अध्यक्ष फुलकुमारी श्रेष्ठले बताउनु भयो । अहिले लक डाउन खुकुलो हुँदा पनि होटल, रेष्टुरेन्ट, चियाघरलाई बन्द गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७ शुक्रबार ००:००  ६ : ३५ बजे