मायादेवी अनलाइन, तौलिहवा ।
जिल्लाको बुद्धभूमि नगरपालिका–१० का तीन गाउँमा यस वर्ष फेरि खानेपानीको हाहाकार भएको छ । दुई साता यता चापाकल (नल) मा पानी आउन छाडेपछि तीन गाउँका १ सय २५ बढी परिवार गाउँ नजिकै रहेको पोखरीको पानी खान बाध्य छन् ।
देउपुरा, लोहरौली र पिप्रहवा लोहरौलीको नयाँ बस्ती टोलमा अहिले पानीको चरम अभाव छ । सोही वडाको गाउँ नजिकै सिँचाइको नाममा सोनु ईट्टा उद्योगले ठूलो बोरिङ संचालन गरेपछि गाउँमा रहेको नलमा पानी आउन छाडेको गाउँलेहरु बताउँछन् । भूमिगत जल सिँचाइ विकास डिभिजन लमही दाङको सहयोगमा २०७५ सालमा बोरिङ जडान गरिएको थियो । त्यही बोरिङ दिनरात चलाईदा मुहान सुक्ने समस्या आएको हो ।
देउपुराका ८२ वर्षे वृद्ध फुलचन्द केवटले दुई साता यता नलमा पानी नआउँदा पिउने पानीको समेत अभाव भएको दुःखेसो पाखे । पानीको अभावले मानिस पशु मात्र होईन तरकारी खेतीमा समेत प्रभाव परेको उमेश केवटले बताए । ‘नलमा पानी नै आउन छाडे हामी धेरै मर्कामा छौ, खानेपानी लिन एक किलोमिटर टाँढा जान बाध्य छौ ।’
लोहरौलाका जयगोबिन्द केवटले ठूलो बोरिङ दिनरात चलाउँदा गाउँका नलको मुहान सुकेको बताए । आफूहरुले बोरिङ नचाउन आग्रह गर्दा अटेरी गर्ने गरिएको उनले गुनासो गरे । अहिले धान खेतमा पानी सिंचाई गर्ने भन्दै दिनरात बोरिङ चलाइएकोले समस्या भएको उनले बताए ।
यसबारे उजुरी गरेपछि भूमिगत जल सिँचाइ डिभिजन लमही दाङको टोलीले स्थगत निरीक्षण गरेपछि खानेपानीको मुहान सुकेको प्रतिबेदन २०७५ असोज २१ गते दिएको थियो । सोही आधारमा दैनिक ३ घन्टा भन्दा बढी बोरिङ नचलाउन निर्देशन पनि दिइएको थियो । तर सो निर्णयको भने अहिले पालना नभएको स्थानीय दयाशंकर केवटले बताए ।
तीन गाउँको खानेपानीको समस्याको विषयमा स्थायी समाधान खोजिनु पर्ने उनले माग गरे । ठूलो बोरिङ गाउँदेखि ७ सय मिटरको दूरीमा छ । ढेड सयदेखि ४ सय फिटसम्म जाली बाधेर ठूलो बोरिङमा पानी निकालिदा यस्तो समस्या आएको हो । गाउँमा खानेपानीको हाहाकारका विषयमा नगरपालिकमा जानकारी गराई सकिएको गाउँलेहरु बताउँछन् । बुद्धभूमि नगरपालिका मेयर केशव कुमार श्रेष्ठले यस विषयमा तत्कालै ठोस कदम चालिने बताए । ‘के कारणले गाउँका नलमा पानी नआएको हो त्यसको अध्ययन गछौ, अनि समस्याको समाधान गछौ’ उनले भने । बोरिङ पिप्राहवा गाउँमा जडान गरिएको छ ।
प्रतिक्रिया