१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अमेरिकामा ट्वाइलेट पेपरजस्तै ल्याप्टपको अभाव



एजेन्सी ।
कोरोना महामारी विश्वव्यापी रुपमा गम्भीर बन्दै गएपछि केही महिनासम्म पुग्नेगरी अतिआवश्यक सरसामग्रीहरु खरिद गर्ने क्रम सबै मुलुकमा बढ्यो । यसका कारणले धेरै समयसम्म अमेरिका लगायत केही देशहरुमा टोइलेट पेपरको चरम अभाव सुरु भएको थियो । र अहिले टोइलेट पेपर जस्तैगरी प्राविधिक उपकरणहरुको माग पूरा गर्न कठिन भइरहेको छ ।

विशेषगरी स्कुल कलेज अनि कार्यालय बन्द हुँदा सबै घरबाट काम गर्न बाध्य भएका छन् । त्यसबीच स्कुल र कलेजहरुले कम्प्युटर, ल्यापटप लगायत डिभाइस नभएका विद्यार्थीका लागि ठूलो सङ्ख्यामा शैक्षिक सामग्रीहरुको माग गरेका हुन् । र देशैभरिका अफिसबाट एकैपटक धेरै सङ्ख्यामा प्राविधिक उपकरणको माग आउनुले यतिबेला आपूर्तिमा कमी ल्याएको छ । विश्वका तीनैवटा प्रमुख कम्पनी, लेनोभो, एचपी र डेलले अचानक वृद्धि भएको माग अनुसार सामान उपलब्ध गराउन नसकिरहेको बताएका छन् । ल्यापटप जस्ता डिभाइसको उत्पादन यत्तिको उच्च माग पूरा गरि आपूर्ति गर्ने किसिमले स्थापित नभएकाले उनीहरुले बताएका हुन् ।

सिएनएनसँग कुरा गर्दै एसर कम्पनीका प्रवक्ताले भनेका छन्, “हामी मात्र नभएर पूरै प्रविधि उद्योगमा कम्प्युटर र मनिटरको माग ऐतिहासिक बिन्दुमा पुगेको छ । त्यसैले हामीले जति सक्दो छिटो र धेरै आपूर्ति गर्न दिनरात खटेर काम गरिरहेका छौँ । ”

अर्को प्राविधिक कम्पनी एचपीका प्रवक्ताले पनि आफूहरु विद्यार्थीको हातमा ल्यापटप पुर्याउन स्कुलको सक्दो मद्दत गरिरहेको बताएका हुन् ।

यसमाथि जनवरीमा चीनका अधिकांश उद्योगहरु बन्द हुँदा निर्माण समग्रीहरुको आपूर्ति ठप्प भइ विश्वभर प्राविधिक उपकरणको उत्पादन नराम्ररी प्रभावित भएको हो । यस सम्बन्धी कम्पनी डेलका प्रमुख सञ्चालक जेफ क्लार्कले भनेका छन्, “ल्यापटपका केही मुख्य अंश जस्तै सिलिकन र एलसीडी स्क्रिन पर्याप्त आपूर्ति गर्न अझै केही समय लाग्न सक्छ । ” सीएनएन

प्रकाशित मिति : २३ भाद्र २०७७ मंगलबार ००:००  ५ : ३८ बजे