१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भदौ २५ गतेदेखि थप बन्द भए नाडाले निशेधाज्ञा नमान्ने



काठमाण्डौँ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले १ सय ८० दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने लकडाउन या निषेधाज्ञाको पालना नगर्नेगरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए।

उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजीकरण गर्नुपर्ने बताए। सरकारले त्यस्तो व्यवस्था नगरे पनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भए पनि व्यवसाय सञ्चालन गर्ने उनको भनाइ छ।

उनले भने ‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजीकरण गरेर अगाडि बढ्न पर्छ, यदि गरेन भने पनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन्, व्यवसायीले विद्रोह गर्छन्, त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको ठीक हुँदैन, सरकारले बुझ्नुपर्छ।’

प्रकाशित मिति : २२ भाद्र २०७७ सोमबार ००:००  ८ : १७ बजे