१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जीवनभर अरुको दुःखलाई हसाउन गाए, अहिले उपचार नपाएर थला परे !



मायादेवी अनलाइन, चार नम्बर ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ को सुकुम्बासी वस्तीमा एउटा सानो झुपडी छ । फुस र प्वालैप्वाल परेका टिनको छानो भएको झुपडी । पानी पर्दा भरभित्रै छिर्छ । लत्तकपडा सबै भिज्छन् । दलान् हिलाम्य हुन्छ । यो झुपडीभित्र दुखैदुखको यस्तो थुप्रो छ, जसको जति ब्याख्या कम गरे पनि सकिन्न । यो झुपडी भित्रको कथा सुन्दा रुँदारुँदै दिन वित्यो । कृपया सहयोग गर्ने मन छ भने अन्तिमसम्म यो भिडिओ हेरेर हजुरहरुले सहयोग गरिदिनु हुन विन्ति छ ।

यो घरमा उमेरले ५२ बर्ष नाघेका बाबुराम गायक अर्थात् बाबुराम गन्धर्व र उनकी १८ बर्षीया छोरी सुनिता गन्धर्व बस्छन् । सकेसम्म आफ्नो दुख देखाउन नसक्ने निकै स्वाबलम्बी र उच्च आत्मविश्वासी बाबुराम अहिले कलेजो लगायतका रोगले थला परेका छन् । अर्थात् उनको कलेजो ड्यामेज भएको छ ।

सन्तानको रुपमा ५ बहिनी छोरी र छोरा हुँदै नभएका बाबुराम गन्धर्व अहिले मात्र कान्छी छोरी सुनिताको भरमा बाँचेका छन् । आन्द्राको क्यान्सरले श्रीमतीलाई २ बर्षअघि टपक्क टिपेर लग्यो, त्यसैमाथि छोरी पनि मरिन् । भएका अरु छोरी सबै लाखापाखा छन् । सम्पतिको रुपमा भएको सुकुम्बासी जग्गा पनि श्रीमती र छोरीको उपचारमा बेच्नु परेपछि अहिले बाबुराम घर न घाट भएका छन् । पेट फुल्लिएर बेलुन जत्रो भएको छ । त्यसैले राम्ररी हिँडडुल पनि गर्न सक्दैनन् उनी । तर उपचार गर्ने एक सुका छैन ।

विचरा १८ बर्षेकी छोरीले बाबालाई उठाउने, हिँडाउने, खुवाउने गर्दछिन् । उनको यो दुःखको बारेमा मायादेवीले थाहा पाएपछि त्यहाँ पुग्दा दिनभर रोएरै फर्कियौँ । जिन्दगीभर सारङी रेट्दा सारङ्गीका यी ४ तार चुँडेनन् तर बाबुरामको जिन्दगीको उत्साह र खुसीको तार भने चुँडिदै चुडिँदै गयो, एकपछि अर्को गरी । सारङ्गी रेटेरै परिवारलाई सुखसंग राखेका बाबुराम यस्तो अवस्था आउँला भनेर कहिल्यै पनि कलपनासम्म गरेका थिएनन् । तर ठग्यो परिस्थितिले ।

घर बाहेक थुक्नसमेत मिल्दैन जग्गामा । आँगनमा पनि संधियारले किला गाडिदिएको छ । अहिले छरछिमेकीमध्ये कोहीले चामल पिठो, कोहीले, दाल, कोहीले लौकाघिरौला आदि दिएर यी बुबाछोरी बाँचेका छन् । गायक बाबुरामलाई आफ्नो पिर छैन तर यी कान्छी छोरीको असाध्यै पिर छ । उनी आफु निको भएर छोरीसम्म पढाउन पाए पनि बाँचेको सार ठान्दछन् । अहिले यति पीरमा छ यो परिवार न छोरी सुनिता आफू सम्हालिन सक्छिन्, न विमारले थाकेका बाबुराम छोरीलाई सम्हाल्न सक्छन् ।

बद्रि पंगेनी, प्रजापति पराजुली, पुरुषेत्तम न्यौपाने, नारायण रायमाझी, वैकुण्ठ महत, कृष्ण कँडेल, शर्मिला गुरुङ, बागेश्वरी संगितालय बुटवलका सुरेश सेन्चुरी इत्यादिसंग स्टेज साटेका गायक बाबुरामका थुप्रै प्रमाण पत्र, सम्मान पत्र र मायाको चिनो छन् । तर ती चिजले के गर्नु ? सारङ्गी रेटेर थुप्रैलाई खुसी बनाएका, दर्जनौँ स्टेजबाट दीनदुःखीका गीत गाएर समाजमा चेतना भर्ने यी राष्ट्रका गायक बाबुरामलाई बचाउनु तपाई हाम्रो कर्तव्य हो ।

तकालको लागि पाँच, सात लाख भए उनको पेटभित्रको पानी निकाल्न सकिन्छ । तर जुटाइदिने कसले कसले ? यो पीडा बुझिदिने कसले ? अस्पताल धाउँदाधाउदै, जीवनबाट हार खाई थला परेका बाबुरामलाई मिठोमिठो खाने कुरा खान मन लागे पनि पेटले दिँदैन । किनकि पेटभरी पानी भरिएको छ । कुनै पनि खानेकुरा खान मिल्दैन । कुनै समय मोटाघाटा बाबुरामसंग अहिले भोकको भित्ता मात्रै छ । भोकैभोकले जिउज्यान सुकेर अहिले मुरलीजत्रा भएका बाबुरामलाई कृपया सहयो गरी बचाऔँ ।

बाँकी अबको पूरा अन्तर्वार्तामा हुर्नुहोला ।

प्रकाशित मिति : २२ भाद्र २०७७ सोमबार ००:००  ५ : ११ बजे