१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मायादेवीको नयाँ कार्यक्रम ‘सिधा कुरा’ सुरु, अर्घाखाँचीमा छायाङ्कन भयो पहिलो अंक



मायादेवी अनलाइन, चार नम्बर ।
रेडियो मायादेवी र मायादेवी अनलाइनले नयाँ कार्यक्रम ‘सिधा कुरा’ सुरु गरेको छ । स्थापनाको दुई बर्षमा गुणस्तरीय कार्यक्रम मार्फत् प्रदेशमै चर्चितबन्न सफल रेडियो मायादेवी र मायादेवी अनलाइनले राजनैतिक, सामाजिक, आर्थिक आदि क्षेत्रमा हुने भ्रष्टाचार, वेथिति, विसंगतिमाथि खबरदारी गर्दै नागरिक सचेतनाको लागि यो कार्यक्रम सुरु गरेको हो ।

प्रदेश ५ लाई केन्द्र बनाएर तयार पारिने भिडिओ कार्यक्रम ‘सिधा कुरा’ युट्युवमा मायादेवी टिभी नामक च्यानलबाट हेर्न सकिने छ भने रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जबाट पनि सुन्न सकिने रेडियोका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले बताउनु भयो ।

कार्यक्रम मायादेवी अनलाइन डटकम नामक फेसबुक पेजबाट पनि संसारभर सुन्न सकिने छ ।
कार्यक्रमको पहिलो भाग अर्घाखाँचीमा छायाङ्कन भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा नगरप्रमुख र उपप्रमुखबीच विवाद चर्किएपछि नगरबासीका काम कारबाहीमा समस्या भएको सूचना पाएपछि मायादेवी टोली त्यहाँ पुगेर ‘सिधा कुरा’ गरी विवादपछिका कारण खोतलेका छौँ । कार्यक्रम निकै रोचक बनेको छ ।

मायादेवीले नगर प्रमुख रेशम थापा र उप–प्रमुख खडानन्द बेल्बासेलाई एकै स्थानमा राखेर कार्यक्रम गर्न खोजे पनि नसकिएपछि छुट्टा छुट्टै कुराकानी गर्न बाध्य भयौँ । उपमेयर मेयरसंगै बसेर अन्तरवार्ता दिन तयार भए पनि मेयर क्षेत्रीले भने संगै हुन चाहेनन् । एकै स्थानमा नपाए पनि हामीले फोनमा भने दुवैलाई भेट गराएका छौँ । टेलिफोनमा पनि उहाँहरुबीच झगडा नै भएबाट मेयर र उपमेयरबीचको द्धन्दले भूमिकास्थानबासीको मतको उपहास भएको सजिलै बुझ्न सकिन्छ ।
मायादेवीले सरकारी तथा प्राइभेट क्षेत्रमा हुने यी र यस्तै बदमासी, बेथिति, भ्रष्टाचार आदिलाई सिधा कुरामार्फत सार्वजनिक गर्ने रेडियोका निर्देशक दिपक अनुरागीले बताउनु भयो । कार्यक्रम ‘सिधा कुरा’ मा घुमाउरो भन्दा पनि वास्तविकतामाथि वस्तुगत उत्तर खोज्ने प्रयास हुने छ ।

तपाई कहाँ पनि यस्ता वेथिति, भ्रष्टाचार, गलत आचरण, ढिलासुस्ति, विवाद, अपराध, बलात्कार आदिका घटना भइरहन्छन् भने तत्काल सम्पर्क गर्नुहोला । टोली तुरुन्त आइपुग्ने छ । यसअघि पनि मायादेवीले बिभिन्न घटना र वेथितिमाथि खबरदारी गरिरहेको छ । देवदह नगरपालिकाको विवाद, जनप्रतिनिधि र कर्मचारीबीचको लफडा, अर्घाखाँचीको शितगंगा नगरपालिकाको शिक्षक नियुक्ति काण्ड लगायतले बाहिर ल्याइसकेको छ । अब ‘सिधा कुरा’ मार्फत् नै हरेक समस्यामाथि खबरदारी हुने मायादेवीकर्मी विमल गरैले बताउनुभयो ।

कार्यक्रम ‘सिधा कुरा’ मायादेवी मिडिया ग्रुप मातहतमा उत्पादन तथा प्रशारण हुनेछ भने प्रोडुसर, कार्यक्रम प्रस्तोता र प्राविधिकका रुपमा चन्द्रकान्त न्यौपाने, दिपक अनुरागी, विमल गैरे रहनुहुनेछ । साथमा रेडियोका वरिष्ठ प्राविधिक उदय पोख्रेल पनि रहनु हुने छ ।

हेर्नुहोस् पूरा भिडिओ

प्रकाशित मिति : २२ भाद्र २०७७ सोमबार ००:००  ९ : २५ बजे