बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको समुदायस्तरमा कोरोना देखिएपछि जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ को क्षेत्र सिल गरिएको छ । समुदायस्तरमा कोरोना फैलिदै गएपछि वडालाई सिल गरिएको हो ।
समुदायमा कोरोना फैलिन नदिन गोरुसिंगे सन्धिखर्क सडकमा चल्ने सवारी बाहेक वडाको घुम्ती बजार क्षेत्र ७ सय मिटर आसपास, नरपानी बजार पिकनिक स्पोटदेखि नरपानीबजार हुँदै राताफले चोकसम्म र वडा नम्बर ७ को फुदवाङ बजारको पुर्वदहखोला देखि बहखोर–अमराई–जगतसम्मको क्षेत्र, पश्चिम खाँचीकोट सिमानासम्म, दक्षिण नेटाका पोखरा सल्लेरीसम्मको क्षेत्र भित्र कुनै पनि गाडि चलाउन नपाईने नगरपालीकाद्धारा जारी सूचनामा उल्लेख छ ।
सातै नगरपालिकाले स्थानीय राजनितीक दल, शिक्षक, बिद्यालय व्यवस्थापन समिति, सहकारी संस्थासँग समन्वय गरी कोरोनाबाट सुरक्षित रहन त्यस क्षेत्रमा सुरक्षाका मापदण्ड अपनाउन जोड दिनुका साथै सामाजिक निगरानी बढाउन समेत सुझाएको छ । वडा तथा नगरपालिकाको प्रशासनिक कार्यालयबाट प्रदान गरिने अत्यावश्यकीय सेवाहरू बाहेक अन्य सेवाहरू सोमबारदेखि बन्द गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । कोरोना प्रभावित गाउँबाट आउने नगरपालिकामा कार्यरत कर्मचारीहरलाई पिसिआर रिपोर्ट नआउँदासम्म होम आईसोलेसन बस्न भनिएको सापकोटाले बताए ।
मानिस आवातजावतमा रोक लगाईएको छ । वडाको समुदायस्तरमा कोरोना फैलिएपछि थप सचेत रहन वडाबासीलाई आग्रह गरिएको वडा अध्यक्ष कृष्णबहादुर आचार्यले बताए ।
अर्घाखाँचीमा आइतबार आएको रिपोर्ट अनुसार ७ जना क्वारेन्टाइनमा बसेका र ४ जना संक्रमित नजिक रहेका समुदायका रहेका छन् । एकसाता अघि कोरोना पोजेटिभ देखिएका सन्धिखर्क–६ का तरकारी व्यापारीसँग नजिक रहेर घुलमेल गरेका सोही वडाका ३ जना पुरूष र १ जना महिलालाई आइतबार कोरोना पुष्टि भएको जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताए । उनिहरू सन्धिखर्क ६ जगतका तरकारी व्यापारी ३१ बर्षीय पुरूषको ६५ बर्षीया आमा र त्यहिबाट तरकारी बोकेर कपिलवस्तु, रूपन्देही र सन्धिखर्क बजारमा बिक्रीवितरण गर्न लैजाने गाडी चालक लगायत २२ बर्ष देखि ३० बर्ष भित्रका ३ पुरूष रहेका छन् । उनीहरू व्यापारीसँग नजिक रहेका स्थानीयबासीन्दा हुन् ।
स्थानीयको गुनासो
अहिले गाउँमा आवत जावत गर्न र गाउँका सबै पसलहरू पनि बन्द गर्नु पर्ने स्थानीय रोमाखर भट्टराईले बताए । अर्का स्थानीय भोज बहादुर विष्टका अनुसार सिङ्गो गाउँ कोरोनाको जोखिममा परेको छ । तर आवत जावतलाई पुर्णरूपमा रोकौं भन्दा अटेर भैरहेको उनको गुनासो छ । अटेर गरि लापरबाही गर्ने माथि प्रशासनले कार्वाही गर्नुपर्ने उनले बताए ।
के गर्दै छ प्रशासन ?
संक्रमित नजिक रहेकाहरूको नाम ठेगाना संकलन गर्न भनिएको छ । उनीहरूको सोमबार पिसिआर परिक्षणका लागि स्वाब पठाईने सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए । एक साता अघि जिल्ला सिंचाई कार्यालय प्रमुख र जनस्वास्थ्यमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको थियो ।
जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या ३७४ जना रहेका छन् भने ३३५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म जिल्लामा ३ जनाको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया