हरि अधिकारी, कपिलवस्तु ।
कोरोना महामारीको कारण लामो समयदेखिको लकडाउनले कपिलवस्तुका ह्याचरी संचालक चरम मारमा परेका छन् । लकडाउन सुरु भएको चैत्रदेखि ह्याचरी ब्यवसायको बजार नै ठप्प भएपछि संचालक मारमा परेका हुन् ।
प्रदेश नम्बर ५ मै सबैभन्दा ठुलो लगानीमा संचालित वाणगंगा एग्रो इण्डष्ट्रिज प्रा.लि.मा मात्रै अहिलेसम्म करोडौंको क्षति भएको संचालक बताउँछन् । करोडौंको लगानीमा प्रदेशमै नमुनाको रुपमा संचालित उक्त उद्योगले उत्पादन शुरु गरे लगत्तै लकडाउन भएपछि पूर्ण रुपमा कारोबार गर्न नपाएको बताइएको छ ।
इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजिव शर्माले गत चैत्रमा मात्रै ८० हजार बढी अण्डा नोक्सान हुँदा लाखौँको क्षति ब्यहोर्नु परेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “सवै बजार बन्द छन्, आवात जावत र कारोबार ठप्प हुँदा चल्ला निकाल्न मेसिन भित्र राखेको ८० हजार अण्डा फुटाउनु पर्ने बाध्यता आयो । जसले गर्दा लाखौँको क्षति भएको छ । लगानी कर्ता मारमा परेका छन् ।”
कपिलवस्तुको वाणगंगा २ लखनपारामा करोडौंको लगानी लगाएर गत पुषबाट कुखुराको चल्ला उत्पादन शुरु गरेको ह्याचरी महिना दिनमै कोरोनाको कहरमा परेपछि यस्तो संकटमा परेको संचालक शर्मा बताउनु हुन्छ ।
यसले गर्दा आर्थिक गतिविधी शुन्य हुनुले उद्योगको क्षमता अनुसार चल्ला उत्पादन भएको छैन । एकातिर बजारमा माग छैन, भने अर्कोतिर उत्पादन लागत भन्दा कम बजार मूल्य हुँदा ह्याचरी उद्योग पूर्ण रुपमा संचालनमा आएको छैन, निर्देशक शर्माले भन्नुभयो ।
प्रविधीयुक्त आफनै ह्याचरीबाट चल्ला उत्पादन सुरु गरेको उद्योगको ३ वटा सेडबाट पूर्ण रुपमा संचालनमा आउदा हप्तामा झण्डै ९० हजार कुखुराका चल्ला उत्पादन क्षमता रहेको छ । जुन लकडाउनले गर्दा संचालनमा आउन सकेको छैन ।
बन्दाबन्दीका कारण बजारको माग घटेसंगै हप्तामा २ पटक गरी १८ देखि २० हजार कुखुराका चल्ला उत्पादन गरिदै आएको छ । हाल १२ हजार फिमेल बर्डस् (पोथीजातीको कुखुरा) बाट बढीमा २० हजार सम्म चल्ला उत्पादन भइरहेको छ । ह्याचरीको क्षमता अनुसार उत्पादन नहँुदा लागत मात्र बढेको लगानीकर्ताको भनाई छ ।
बन्दाबन्दीका कारण बजारमा कुखुराको माग घटेसंगै उत्पादनमा कमी आएको कम्पनीले जनाएको छ । चाँडो कोरोना कहर कम भएमा आर्थिक गतिविधि बढ्नेमा ब्यवसायी आशाबादी देखिन्छन् । चाडपर्व नजिकिए संगै सवै क्षेत्र पनि विस्तारै उठ्न लागेको भन्दै यसको माग पनि विस्तारै बढ्न सक्ने ब्यवसायीको भनाइ छ ।
अहिले नेपालका अधिकांस स्थानमा बाहिरबाट उन्नत चल्लाहरु आयात गर्नु पर्ने बाध्यता छ । तर क्षमता अनुसार संचालन हुन पाउने हो भने त्यो माग थेग्न पनि आफूहरु तयार रहेको प्रा.लिका प्रबन्धक शर्मा बताउनु हुन्छ ।
प्रालिका अध्यक्ष रामलाल अधिकारीले स्थानीय युवाहरु मिलेर आफनै ठाउँमा लगानी गरेको भन्दै स्थििति सहज हुने वित्तिकै उद्योगमा थप रोजगारी सिर्जना हुने बताउनु भयो ।
२ विगाहा जग्गामा २० करोडको लागतमा आफनै कम्पाण्डमा नयाँ प्रविधीको कुलिङ सिस्टम, ह्याचिङ मेसिन, फारम, अटोमेटिक वाटर निप्पल ड्रिकंर लगायतका प्रविधिसहित वाणगंगा एग्रो इण्डष्ट्रिज प्रा.लि. संचालित छ ।
बजार, सवारी, होटल ब्यवसाय ठप्प हुँदा अहिले सबै आर्थिक गतिविधि ठप्प छन् । त्यसको सबैभन्दा ठुलो मारमा ह्याचरी संचालक पनि परेका हु्न् ।
प्रतिक्रिया