१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रदेश ५ को अवस्थाः अग्र भागमा खटिने ६ सय ५ जनामा कोरोना संक्रमण



मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश ५ मा कोरोना कहरमा अग्र भागमा खटेर काम गर्ने ६ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमण हुनेको पहिलो स्थानमा सुरक्षाकर्मी, त्यसपछि स्वास्थयकर्मी र तेश्रोमा कर्मचारी रहेका छन् । यसरी संक्रति हुनेमा सबैभन्दा धेरै तिन अंगका सुरक्षाकर्मी छन् ।

प्रदेशका बिभिन्न जिल्लाका ३ सय १ जना सुरक्षाकर्मी, १ सय ८९ जना स्वास्थ्यकर्मी र १ सय १५ जना कर्मचारी गरी ६ सय ५ बढीमा कोरोना संक्रमण भएको मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । यो तथ्याङ्क आइतबार दिउस सम्मको हो ।
दैनिक सुरक्षामा खटिने नेपाल प्रहरीका १ सय ६, सेनाका १ सय १४ र सशस्त्र प्रहरीका २३ जना संक्रमणमा परेका छन् ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी बाँकेमा १ सय २० जना सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन् । जसमा ७५ जना नेपाल प्रहरी, ३० जना सेना र १५ जना सशस्त्र रहेका छन् ।

त्यस्तै दोश्रोमा दाङ रहेको छ । त्यहाँ २ प्रहरी, ५८ सेनासहित ६० जना संक्रमित हुँदा कपिलवस्तुमा ४९ प्रहरी र ७ जना सशस्त्रसहित ५६ जनामा कोरोना संक्रमण भएको छ ।

यसैगरी, नवलपरासीमा दुई प्रहरी र एक सशस्त्र प्रहरी गरी तीन जना, रूपन्देहीमा २१ प्रहरी, पाल्पामा दुई सेना, प्युठानमा ६ प्रहरी र २३ सेना गरी २९ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशमा फ्रन्टलाइनमा खटिने १ सय ८९ जना स्वास्थ्यकर्मी संक्रमित छन् । स्वास्थ्यकर्मी संक्रमित हुनेमध्ये सबैभन्दा धेरै रूपन्देहीमा ५२ जना रहेका छन् ।

सूचना अधिकारी डा. पुष्पराज पौडेलले रूपन्देहीमा १६ जना चिकित्सक, १४ जना नर्स र २९ जना कर्मचारी गरी ५२ जनामा कोरोना संक्रमण भएको बताउनु भयो । रूपन्देहीपछि बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । बाँकेमा सात जना चिकित्सक, २० नर्स र १४ कर्मचारीसहित ४३ जनामा कोरोना संक्रमण छ । त्यस्तै, कपिलवस्तुमा तीन जना चिकित्सक, चार जना नर्स र २९ कर्मचारीसहित ३६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसबाहेक नवलपरासीमा नौ, अर्घाखाँचीमा तीन, गुल्मीमा एक, दाङमा २८, बर्दियामा आठ र प्युठानमा नौ जना चिकित्सक र कर्मचारी संक्रमित भएका छन् । चिकित्सकमा नै संक्रमण देखिए पनि प्रदेशका कुनै पनि अस्पतालले सेवा नरोकिएको सूचना अधिकारी पौडेलले बताए । कोरोना देखिएकालाई सेल्फ आइसोलेसनमा बस्न लगाएर र अस्पताललाई सेनिटराइज गराएर सेवा जारी राखिएको उहाँको भनाई छ ।

यस्तै प्रदेशमा १ सय १५ जना सरकारी कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न सरकारी कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण भएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७७ आइतबार ००:००  ६ : १७ बजे