१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उनी हुन् टक बहादुर, कपिलवस्तुमा मिचिएको भूमिका जंगे पिल्लर ! (भिडिओ)




चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
नाम टक बहादुर मगर । घर कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर १ अमृतडिहवा । उमेर २१ बर्ष । हेर्दा पनि मोटाघाटा, चिल्लापिरा,खाइलाग्दा । कोरोना महामारीको समयमा सबै आआफ्नो घरमा बसिरहेको बेला २१ बर्षिय यी टक बहादुरले कुनै औपचारिक कामधन्दा या जागिर नगरे पनि एउटा अचम्मको काममा ब्यस्त छन् । उनको कामलाई पानीले पनि भिजाउन्न घामले पनि सेक्दैन । चाहे समसाँझ, चाहे एका विहानै उनी जतिखेर पनि काम गर्न उत्साहित देखिन्छन् ।

यही भदौ १६ गते काम विशेषले मायादेवी टोली कपिलवस्तुको सुदुर स्थानमा रहेको विजयनगर गाउँपालिकामा पुगेको थियो । उत्तरमा दाङ र दक्षिणमा भारतसंग सिमा जोडिएको यस पालिकाका केही सिमा क्षेत्रमा नेपाली भूमि मिचिएको छ भन्ने थाहा पाएपछि हामी त्यहाँ पुगेका थियौँ । त्यहाँ पुग्दा एक युवकको काम देखेर अचम्मको महसुस भयो ।

लक डाउनका कारण घरमा पनि काम नभएको र विदेश पनि जान नपाएको अवस्थामा उनले सिमामा बसेर पिल्लरहरु देखाउने काम गर्दछन् । विजयनगर गाउँपालिकाको दशगजामा केही सिमास्तम्भ (पिल्लर) विगत १५ महिना देखि ढलेका छन भने केही हराएका छन । बर्षाको बेलामा बाढी आएको बखत खोलामा पानीको मात्रा बढेपछि त्यहाँको अर्रा नदीमा सिमा स्तम्भ डुब्छन् । आफ्नो देशको सिमाको बारेमा बुझ्न त्यहाँ जाने जोकोहीले ती डुबेका पिल्लर देख्न सक्दैनन् ।

त्यसपछि तिनै टक बहादुरले नदीमा चुर्लुम्म डुबेर डुबेका पिल्लर देखाउँछन् । उनलाई यो काम गर्न पानीले पनि छेक्दैन, घामले पनि रोक्दैन । विहान, दिउसो साँझ जाने जो कोहीलाई पनि उनले त्यहाँ भासिएका र डुबेका पिल्लर देखाउन ब्यस्त रहन्छन् ।

कुरा देशप्रेमसंग जोडिएकाले यो काम गर्न पाउँदा आफू औधी खुसी भएको बताउँछन् । उनी भन्छन्, ‘नदी सुक्दा देखाउनु पर्दैन तर बर्षायामा डुविने हुँदा देखाउन पर्दछ । अहिलेसम्म पत्रकार र अरु गरी २० बढीलाई पानीमुनी डुबेर पिल्लर भएको ठाउँ देखाइसकेको छु ।’

घरका सबै कामधन्दा छोडी उनी दैनिक सिमानामा हुन्छन् । देशको लागि केही गर्न नसकिए पनि आफुलो सक्दो गरेको उनी सुनाउँछन् । जहिले पनि आफू सिमाना हुँदा कहिलेकाहीँ भारतीय सुरक्षाकर्मीले धम्की र गाली गलौज गर्ने गरेको उनले मायादेवीसंग बताए ।

त्यहाँका ५७७ वाई ९ नम्बर लगायतका डुबेका पिल्लरहरुलाई उनै टम बहादुरले नदेखाउने हो भने चिन्न सकिन्न । उनी मात्रै होइन उनीजस्ता अन्यले पनि त्यहाँ जाने मानिसलाई पिल्लर देखाउँछन् । विजयनगरको वडा नम्बर १ मा पर्ने अमृतडिहवा र नयाँबस्तीमा वि सं २०७६ सालको साउनमा ढलेका र हराएका पिल्लर अझै उठ्न सकेका छैनन् भने हराएका स्तम्भको खोजी भएको छैन ।

गृहमन्त्रालयले गरेको एक अध्ययन अनुसार सात सय ६० मुख्य स्तम्भ, ९ जंगे पिलर मध्ये चार सय ९४ मात्र ठीक अवस्थामा छन् । एक सय ९५ वटा मर्मत गर्नुपर्ने, १० वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् भने १ सय ११ खोलाले बगाएको छ । यो तथ्याङ्कमा विजयनगरमा अलपत्र अवस्थामा रहेका सिमा स्तम्भहरुको सम्भवतहः गणना छैन । किनकि अहिलेसम्मको रेकर्ड अनुसार कपिलवस्तुमा जम्मा १ हेक्टर क्षेत्रफल मात्र मिचिएको भनेर देखिन्छ तर विजयनगरमा सिमा स्तम्भ सरेका, हराएका र सयौँ विगाहा जग्गा मिचिएको हेक्का कुनै सरकारी तथ्याङ्कमा उल्लेख छैन ।

गृहमन्त्रालयले सशस्त्र प्रहरीलाई सीमा सुरक्षा जिम्मवारी सुिम्पएको छ । सशस्त्र प्रहरीमा सीमा सुरक्षा विभाग गठन गरेर सीमा स्तम्भ रहेका स्थानको पहिचान गर्दै ती स्थानको लोकेसन जिपिएसको माध्यमबाट अभिलेख राख्न सुरु गरे पनि १५ महिनादेखि अलपत्र विजयनगरका सिमा स्तम्भको रक्षामा कसैको चासो पुगेको छैन। सिमा स्तम्भ स्पष्टसंग हुनु पर्ने स्थानमा नहुँदा दिन दाहाडै त्यहाँ सिमा मिचेर नेपाली मिन कब्जा गर्दै भारतले खेती गर्न थालेको छ ।

विजयनगरको वडा नम्बर १ मा एउटा अर्रा नदी छ । त्यही नदीले नेपाल भारत भूमिलाई छुट्याउँछ । त्यसैलाई आधार मानेर सदिऔँदेखि नदी पारि भारत र नदी वारी नेपालको भूमि भनेर मानिँदै आइएको अवस्था थियो । तर दुई बर्ष भयो । अर्रा नदी वारी नयाँ सिमास्तम्भ गाडिएपछि नेपालीले जोतभोग गरेको जमिन भारतले खोसेको छ । करिब ३ सय विगाहा क्षेत्रफल भूमिमा अहिले भारतले कब्जा गरी धान नै रोपेको छ ।

स्थानीय सरकारका प्रमुख गोपाल थापाले पछिल्ला दुई बर्षमा भारतले भूमि मिचेर बलमिच्याई गरिरहेको बताउनु भयो । विजयनगर गाउँपालिकाको वडा नम्बर १ मा रहेको नयावस्तीका ५०। ६० घर गत बर्षमात्रै त्यहाँबाट उठेका छन् । हिजोसम्म त्यहीँ घर बनाएर खेती किसानी गरेका किसान अहिले थातथलो छोडर भाग्नु परेको छ ।

पालिका अध्यक्ष थापा भन्नुहुन्छ, ‘अनुमानित ३ सय विगाहा जति भुभाग भारतले मिचेर धान रोपेको छ । दशगजामा पनि धान रोपिँदा नेपाल भारत भूमि छुट्याउन सकिन्न । यसमा सरकार रमिते बनेको देखिन्छ । उहाँले थप्नुभयो, सदिऔँदेखि अर्रा नदीले छुट्याएको भूमि मिचेर कसरी सहमतिमा नयाँ पिल्लर वारी गाडियो, अचम्ममा परेको छु ।’

उहाँले सिमाको विषयमा स्थानीय सरकार र स्थानीयको भावना बुझ्ने प्रयास एकपटक पनि नभएकोमा दुख ब्यक्त गर्नभयो । दुई देशको सहमतिमा सिमा सारिएको भए पनि थापाले नेपाली भूमि र स्थानीयमाथि अन्याय भएको बताउँदै प्रश्न गर्नुहुन्छ, उसो भए अर्रा नदीलाई कसरी लिने ? के त्यो सिमाना थिएन त ? थियो भने अर्रा नदीको बीचमै किन नयाँ पिल्लर गाडिएन ?

लामोसमयदेखि जोतभोग गर्दै जीवन गुजारेका नेपालीलाई उठीबास लगाएर पिलर गाड्दा राष्ट्रियताको उपहास भएको स्थानीय डिल बहादुर मगर बताउनु हुन्छ । विजयनगरको वडा नम्बर १ मा अहिले ५ सय घर सुकुम्बासीमा छन् । सबै मगर समुदायकै व्यक्ति हुन् । अर्रा नदी सिमा हुँदासम्म यिनै समुदायले नेपाली भूमि जोगाएर राखेका थिए तर नयाँ सिमा गाडिनासाथ उनीहरुले आफ्नो भूमि भनेर जोतभोग गरिरहेको भूमि बाध्यतावस छोड्नु परेको छ ।

नाम नभन्ने सर्तमा एक जना बुबाले आक्रोशित हुँदै भन्नुभयो, “यो कस्तो खाले सरकार हो ? आफ्नो भूमि पनि नचिन्ने । भारतलाई बोलाएर किला गाडी आफ्नै नागरिकलाई धपाउने, यस्तो पनि सरकार हुन्छ ? के को देशप्रेम, के को राष्ट्रवादका कुरा ? उहाँले नयाँवस्तिमा यस्तै ३ सय विगाहा जति भूमि भारतले मिचेर खेती गरिरहेको सुनाउनु हुन्छ ।

सरकारी कर्मचारी पनि विजयनगरको यो समस्यामा कोही कसैले ध्यान नदिएकोमा चिन्ता जाहेर गर्दछन् । विजयनगरका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराइले यो दुई देशबीचको समस्या भएकाले आफूहरुले चाहेर पनि केही गर्न नसक्ने बताउनु हुन्छ । उहाँले विजयनगरमा नेपाली भूमि मिचिएको छ भनेर अझैसम्म कसैले नलखेको बताउँदै चाँडै सरकारको ध्यान जानु पर्ने बताउनु भयो ।
स्थानीय हर्क बाहदुर मगरले पनि यहाँका थुप्रै सिमा सतम्भ गायब भएको र डुवेको बताउनु भयो । नयाँ पिलर गाडिएको २ बर्ष एक बर्षसम्मै ढलेका पिलर नउठ्दा सारै दुख लागेको भन्दै भन्नुभयो, “मैले पिर मानेर के गर्नु ? आँखा अगाडी भारतले हाम्रो जग्गा मिचेकबो छ । टुलुटुलु हर्ने बाहेक केही गर्न सकिन्न ।” यी स्थानमा भारतीय सुरक्षाकर्मी पलपलमा आउने भए पनि नेपाली सुरक्षाकर्मी भने कहिले काहीँ मात्र देख्न पाइने उहाँ बताउनु हुन्छ ।

अहिले गाडिएका सिमा स्तम्भ नेपाली भूमिमै ल्याएर गलत स्थानमा गाडिएकोमा स्थानीयको दुखेसो छ । नेपाल सरकारको तथ्याङ्कमा यो मिचिएको स्थानको क्षेत्रफल अझैसम्म अटाउन सकेको छैन । यसलाई सरोकारवालाले गम्भिर रुपमा लिएका छन् ।

जिल्लाको पश्चिमी भेगमा लामो समय पत्रकारिता गरिरहेका पत्रकार चिन्ता परियार भन्नुहुन्छ, ‘भारतले आफ्नो मिचिएको भूमि एक इन्च पनि छोड्दैन, आजसम्म नयाँवस्तिमा भारतले के हेरेर बसेको थियो ? आफ्नो भूमि हुन्थ्यो भने भारतले यस अघि नै त्यहाँको भूमि लगिसक्थ्यो । यसबाट पनि प्रष्ट हुन्छ भारतले सयौँ विगाहा जग्गामा बलमिच्याई गरेको छ ।’

लिम्पियाधुरा, लिपुलेख, कालापानी, सुस्ताको कुरा उठे पनि यसरी सिमामा मिचिएका सयौँ हेक्टर क्षेत्रफल जमिन गुमनाम छन् । त्यसैको पराकास्टा हो कपिलवस्तुको विजयनगर पनि । चाँडै सरकारको ध्यान जाहोस् ।

तल क्लिक गरी भिडिओ हेर्नुहोला ।

प्रकाशित मिति : २० भाद्र २०७७ शनिबार ००:००  ७ : ४९ बजे