१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मायादेवीको पहलपछि बाबुराम गायकलाई बचाउन चौतर्फी चासो (भिडिओ)



मायादेवी अनलाइन, चार नम्बर ।
कुनै समयका लोक दोहारी गायक तथा सारङ्गी बादक बाबुराम गायकलाई बचाउन चारैतिरबाट चासो सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर तिनको सुकुम्बासी वस्तिमा बसोबास गर्दै आउनु भएका बाबुराम गन्धर्व (बाबुराम गायक) को अहिलेको अवस्थाबारे मायादेवी मिडिया ग्रुप (मायादेवी अनलाइन, मायादेवी रेडियो तथा मायादेवी अनलाइन टिभी) ले २ दिन अघि एउटा भिडिओ बनाएको थियो ।

त्यसपछि राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान काठमाण्डौँ, देवदह नगरपालिका र विभिन्न क्षेत्रबाट बाबुरामको उपचारमा चासो आएको छ ।

देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले भिडिओ हेरे लगत्तै मायादेवीसंग कुराकानी गर्दै बाबुरामको उपचारमा चासो राख्नुभएको छ । उहाँले आफु त्यहाँ पुगेर अवस्था हेर्ने उहाँले जनाउनुभयो ।

प्रतिष्ठानका पूर्व अध्यक्षद्धय बद्रि पंगेनी र चन्द्र शर्माले मायादेवीमा सम्पर्क गरी उहाँको उपचारमा सघाउने बताउनु भएको छ ।

२ सय ५० बढी गीति एल्बममा सारङ्गीको धुन दिनु भएका बाबुराम गायक अहिले बिभिन्न रोगले सिकिस्त हुनहुन्छ । कलेजोमा समस्या आएपछि चैत्रबाट गायक बाबुरामको पेटमा पानी भरिएको छ । उपचार गर्न एक रुपैयाँ नभएपछि अहिले त्यही फुलिएको भुँडी घिसारेर घरमै बसिरहनु भएको छ । २ बर्षअघि श्रीमती गुमाउनु भएका बाबुरामसंग अहिले कान्छी छोरी मात्र साथमा हुनहुन्छ । श्रीमतीलाई आन्द्राको क्यान्सर लागेपछि जग्गा जमिन बेचेर उपचार गरे पनि बचाउन नसक्नु भएका गायक बाबुराम अहिले जीवन मरणको दोसाँधमा रहेको भिडियो मायादेवीले पहिलोपटक सार्वजनिक गरेको थियो ।

पूर्व अध्यक्ष चन्द्र शर्माले आज भोली नै उहाँको उपचार सुरु गर्ने मायादेवीसंग बताउनु भएको छ । आज विहान टेलिफोन गरी, उहाँले भन्नुभयो ‘मायादेवी मिडियालाई धेरैधेरै धन्यबाद । पुराना सर्जक बाबुराम दाइको अवस्था खोजी बाहिर ल्याइदिनु भएकोमा । पहिले उहाँको पेटभित्रको पानी निकालौँ । मैले लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष ज्यूसंग कुराकानी गरिसकेको छु । आजै त्यहाँ उपचारको लागि लगौँ । त्यसपछि अरु काम गरौँला ।’ उहाँले बाबुरामकी कान्छी छोरीको भविष्यको बारेमा पनि सहयोग गरिने बताउनु भयो ।

यस्तै बद्रि पंगेनीले पनि दाइको अवस्था देख्दा निकै भावुक भएको भनी दुख ब्यक्त गर्नु भयो । उहाँले नेपाली लोक गीतसंगितका अतुलनीय योगदान दिनुभएका बाबुरामलाई बचाउनु आफ्नो कर्तब्य भएकाले छिटै भेट्ने बताउनु भयो ।

त्यस्तै लोकदोही गायक वैकुण्ठ महत, लोक दोहोरी प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारी, प्रतिष्ठान रुपन्देहीले पनि बाबुरामलाई सहयोग गर्ने बताउनु भएको छ । यस्तै पहिलोपटक आफूहरुको अवस्थाबारे मायादेवीबाट भिडियो सार्वजनिक भएपछि अन्य सामाजिक संघसंस्थाले पनि उपचारमा सघाउने भनी सम्पर्क गर्न थालेको बाबुरामकी कान्छी छोरी सुनिता गायकले मायादेवीलाई बताउनु भयो ।

बाबुरामको अवस्था सारै दयनीय छ । उहाँका ५ छोरी थिए भने एक जना पनि छोरा थिएनन् । त्यसपिछ ११ कक्षामा पढ्ने कान्छी छोरीको सहारामा उहाँ बाँच्नु भएको छ । उहाँ हिँडडुल गर्न सक्नु हुन्न । छिमेकीले दाल चामल आदि दिएर अहिले बाबुराम र छोरी बाँचिरहनु भएको छ ।

बाबुरामको अवस्थाबारेको भिडिओ यहाँले मायादेवी टिभी नामक युट्युव च्यानलमा भेटाउन सक्नु हुने छ ।

प्रकाशित मिति : २० भाद्र २०७७ शनिबार ००:००  ८ : ५१ बजे