काठमाडौं ।
सरकारले कोरोनाबाट मृत्यु भएका र संक्रमितको व्यक्तिगत विवरण सार्वजनिक नगर्ने भएको छ । सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु भएका र संक्रमितको व्यक्तिगत विवरण सार्वजनिक नगर्न निर्देशन दिएको हो । मृतक र संक्रमितको हाल बसोबास गरिरहेको ठेगाना तथा स्थायी ठेगाना दुबै सार्वजनिक गर्न यसअघि सूचना आयोगले दिएको निर्देशन सर्वोच्चले बदर गरेको छ ।
आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जेठ ६ गते निर्देशन दिएको थियो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले निर्देशन बदर गर्दै त्यस्ता सूचना गोप्य नै राख्न भनेको हो । सार्वजनिक गर्ने कार्य तत्काल बन्द गर्न पनि अदालतले भनेको छ ।
कोरोना न्यूनीकरणका लागि आवश्यक पर्ने सूचना अधिकारप्राप्त निकायले लिन पाउने भए पनि त्यसको संरक्षण समेत सोही निकायले गर्नुपर्ने फैसलामा उल्लेख छ । त्यस्ता सूचना सम्बन्धित निकायले नै गोपनीयता कायम गरेर राख्नुपर्ने फैसलामा उल्लेख छ ।
सूचना सार्वजनिक गर्नु, प्रचलित संविधान तथा कानुन विपरीत हुने फैसलामा भनिएको छ । सर्वोच्चले साउन २१ गतेको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो । अदालतले व्यक्तिको जिउ, आवास, सम्पत्ति, तथ्याङ्कलगायत गोप्य रहने भन्ने संवैधानिक व्यवस्था पालना हुनुपर्ने पनि फैसलामा उल्लेख गरेको छ ।
सूचना तथा विवरण सार्वजनिक हुँदा परिवारका सदस्यमा समेत घृणाजन्य अपराध हुनसक्ने अदालतको फैसलामा उल्लेख छ ।
प्रतिक्रिया