बुटवल ।
रुपन्देहीमा भदौ २ गतेदेखि जारी लकडाउनको स्वरूप फेरिने भएको छ । बुटवल उपमहानगरपालिकामा साउन २९ देखि र रुपन्देही जिल्लाभरि भदौ २ गतेदेखि लकडाउन घोषणा गरिएको थियो ।
पछिल्लो पटक भदौ १४ गते थप गरिएको लकडाउनको अवधि शनिबार राति १२ बजे सकिँदै छ ।लकडाउनको अवधि सकिन लागे पनि कोरोना संक्रमणको जोखिम यथावत् छ।
यसैबीचमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा शुक्रबार सम्पन्न जिल्ला कोभिड व्यवस्थापन नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले भदौ २१ गतेदेखि लकडाउनको स्वरूप परिवर्तन गरी सहज बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नगरप्रमुखले बताए।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा सम्पन्न बैठकमा बुटवल उपमहानगरपालिकालगायत जिल्लाका सबै पालिका प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।
बैठकले भदौ २१ गतेदेखि बिहानको समयमा दैनिक उपभोग्य वस्तुहरूको बेचबिखन गर्ने तथा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कपडा तथा डिपार्टमेन्टल स्टोर्सहरू समेत खुल्न पाउने गरी निर्णय गरिएको बैठकमा सहभागी ती नगरप्रमुखले जानकारी दिए ।
‘आजको बैठकले आगामी २१ गतेदेखि लकडाउनको स्वरूप परिवर्तन गरेर सहज जनजीवनका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेका छौं, अब जिल्ला प्रशासन कार्यालयले बाँकी काम गर्नेछ,’ उनले भने ।
उनका अनुसार बैठकले लकडाउनको पालना र खुला रहेका क्षेत्रमा सामाजिक दूरी कायम भएरनभएको र थप अनुगमन गर्नका लागि अनुगमन समिति समेत बनाउने निर्णय गरेको छ ।
जारी लकडाउनको स्वरूप परिवर्तन गरिएको भनिए पनि होटल रेष्टुरेन्ट, विद्यालय, यातायात सन्चालन गर्न, खेलकुद भेला गोष्ठी लगायतका मानिस जमघट हुने गतिविधि भने आयोजना गर्न पाइने छैन ।
लकडाउनको अवधि थपिँदै जाँदा लकडाउन हटाउन सबै क्षेत्रबाट व्यापक दबाव सृजना भएको थियो ।
प्रतिक्रिया