९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बागलुङमा बाढी पहिरोः १४ को मृत्यु, अझै ३९ बेपत्ता



बागलुङ ।
मध्यरातमा घर भूकम्पले हल्लाएझैं भयो । ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटका निमबहादुर विक हतार–हतार उठे र बाहिर निस्किए । त्यतिन्जेल भुजीखोलाको बाढी घरभित्र पसिसकेको थियो । छोराछोरी च्यापेर सुरक्षित ठाउँ खोज्न निस्कँदानिस्कँदै घर गर्ल्यामगुर्लुम ढल्यो ।

भागाभाग गरेर उनी, श्रीमती, दुई छोरा र एक छोरीले ज्यान बचाए । पालेका पशुपन्छी सबै बगे । हेर्दाहेर्दै उनको घरछेउको बस्ती नै बग्यो । विक परिवारले झरीमा रुझेर बुधबारको रात कटाए ।

लाँकुरीबोट मात्र होइन, भट्टेचौर, सुपुर्दुङ र फलेघरलगायत बस्तीका निद्राबाट ब्युँझिन भ्याएका केहीले रोइकराइ गर्दै भागेर ज्यान बचाए । धेरैलाई बाढीले बगाएर लग्यो ।

स्थानीय ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतका अनुसार ढोरपाटन–सालझन्डी सडक खण्डको देउरालीबाट खसेको पहिरोले बुधबार साँझ नै भुजीखोला थुनिँदा तालजस्तो बनेको थियो । मध्यरात एक्कासि पहिरोको अवरोध भत्काउँदै खोलाले बाढीको रूप लियो र तटीय क्षेत्रका बस्तीमा पस्यो ।

भुजीखोला ढोरपाटन लेकको पूर्वी पानीढलो भए र बग्ने भुजीखोला–बुर्तिवाङ हुँदै आधा दर्जन खहरेसँगै बडीगाड खोलामा मिसिएको छ । लेकमा मुसलधारे वर्षा हुँदा भुजीखोलामा जलस्तर बढ्छ । ‘पहिरोले छेकेको खोला साँझ तालजस्तो बन्दै थियो । खोलाले मध्यरातमा ढुंगामाटोको अवरोध खोल्दा बाढी आएको हो,’ उनले भने, ‘सबै जना मस्त निद्रामा हुने बेला परेर ठूलो क्षति भयो ।’ ज्ञानोदयको कक्षा १० मा पढ्ने सुस्मिता विकका पाँच जनाको परिवारै बाढीमा बेपत्ता भएको उनले बताए ।

बाढीले ढोरपाटन–७, ८ र ९ वडाका ४० घर बगाएको प्रारम्भिक तथ्यांक छ । बेपत्तामध्ये बिहीबार साँझसम्म १४ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताएका छन् । भेटिएका शवमध्ये ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केसमाया विक र लाँकुरीबोटका ४५ वर्षीय करबहादुर विकको मात्रै सनाखत भएको छ । बस्तीदेखि १५ किलोमिटर तल खोलाको तीरमा पनि केही शव भेटिएका छन् । ‘क्षतविक्षत शव र केहीका हातखुट्टा मात्रै भेटिएकाले पहिचानमा समस्या भएको छ,’ प्रजिअ न्यौपानेले भने, ‘बेपत्ताको खोजी जारी छ ।’

स्थानीयका अनुसार उक्त क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती फलेघरभन्दा करिब ५ सय मिटरमाथि पहिरो खसेर भुजीखोलाको बहाव थुनिएको थियो ।

खोलाले एकैचोटि अवरोध खोलेर बाढीको रूप लिँदा झन्डै १० किलोमिटर तलसम्मको दुवै किनारका बस्तीमा क्षति पु¥याएको हो । बाढीले खेतीयोग्य जमिनको पनि ठूलो क्षेत्रफल बगाएको छ ।

मध्यरातको घटनाबारे आसपासका सुरक्षाकर्मीको युनिटले बिहीबार बिहान मात्र थाहा पाएका हुन् । खोलाले ढुंगामाटो ल्याएर पुरेका बस्तीको भग्नावशेषबाट इलाका प्रहरी कार्यालय बुर्तिवाङ, घोडाबाँधेस्थित नेपाली सेनाको अर्जुन वाँण गणको टोली र स्थानीयले पहिरो पन्छाएका हुन् । बेपत्ताको खोजी र उद्धारको काम जारी रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

बाढीपहिरोले ३ लघुविद्युत्, ३ पानीघट्ट, सुपुर्दुङ आधारभूत विद्यालयको एउटा भवन, खानेपानीका केही धारा तथा ट्यांकी र गाउँघर स्वास्थ्य क्लिनिकको भवनसमेत बगाएको छ । एउटा पिकअप भ्यान र दुईवटा मोटरसाइकल पनि बगाएको प्रहरीले जनाएको छ । ‘सबै मस्त निदाएका बेला भएको घटनाले धेरैजसो घरसँगै बगेर बेपत्ता भए । घाइते तीन जनालाई मैले आफ्नै कोठामा भएको औषधिले उपचार गरें,’ स्वास्थ्य चौकी इञ्चार्ज दीपक थापाले भने । घटनामा बाँचेकाहरू सकुशल रहेको र पुरिएकाहरूको अवस्था यकिन नभएको उनले बताए ।

प्रधानाध्यापक कायतले राति थाहा पाएर पनि वरपरका बस्तीका गाउँलेहरूले टेलिफोन र बिजुली अभावमा उद्धारमा खटिन नसक्ने अवस्था भएको बताए । ‘उज्यालो भएपछि मात्रै हामी उद्धारमा पुग्यौं,’ उनले भने, ‘प्रहरी टोली आउने बेलासम्म २ जनाको शव फेला परिसकेको थियो ।’

बाढीले खोलाको दायाँबायाँ सबै बगाएकाले बुर्तिवाङदेखि ढोरपाटन जाने सडकको अधिकांश खण्ड क्षतविक्षत भएको छ । उद्धार टोली पैदलै घटनास्थल पुगेको थियो । यो खण्डमा भुजीखोला किनारमै घर बनाइएकाले बढी क्षति भएको हो । वर्षायाम भएकाले अधिकांश स्थानीय खेतीपाती र गाईबस्तु चराउन ढोरपाटन लेकतिर जाने गर्छन् । यसले पनि कम मानवीय क्षति भएको आकलन स्थानीयको छ ।

केही दिनदेखिको निरन्तर वर्षा बुधबार पनि भइरहेकाले केही स्थानीय बाढी आउन सक्ने भन्दै सुरक्षित ठाउँ सरेका थिए । ‘असाध्यै पानी परेकाले छिमेकीलाई चनाखो बन्न भनेका थियौं । बाढीपहिरो खबर गरेर कहाँ आउँथ्यो,’ स्थानीय फूलमाया पुनले भनिन्, ‘हामी बिहान उठ्दा धेरै घर बगिसकेका थिए ।’

विद्युत् अभावमा राति रोइकराइ गरेकालाई पनि उद्धार गर्न नसकेको उनले बताइन् । घटनास्थल सदरमुकाम दबगलुङ बजारबाट १ सय ३० किलोमिटर पश्चिममा पर्छ । पहिरो गएको क्षेत्र ढोरपाटन–सालझन्डी सडक खण्डमा छ ।

ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले पीडितलाई तत्काल बस्न र खानका लागि व्यवस्थापन गर्ने बताएका छन् । ‘राहत दिएर सुरक्षित स्थानमा राख्छौं । त्यसपछि क्षतिको विवरण संकलन गरी पुनःस्थापनाको काम गर्छौं,’ उनले भने, ‘यो विपत्तिमा संघीय र प्रदेश सरकारको पनि साथ र सहयोग चाहिएको छ ।’

यसैबीच गृहमन्त्री रामबहादुर थापा घटनास्थल पुगेर राहत वितरण गर्ने योजना रहे पनि खराब मौसमका कारण उनी चढेको नेपाली सेनाको हेलिकप्टर पुग्न नसकेपछि बिहीबारै काठमाडौं फर्किए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञप्तिमार्फत दुःख व्यक्त गर्दै खोजी र उद्धारमा खटिनेलाई धन्यवाद दिनुका साथै राहत प्रदान गरिने बताएका छन् । बिहीबारै बागलुङ रेडक्रस र राधामाधव सेवा समितिसहित प्रदेश सांसदको टोली पनि घटनास्थल पुगेको छ । –कान्तिपुरबाट साभार

प्रकाशित मिति : १९ भाद्र २०७७ शुक्रबार ००:००  ७ : ०० बजे