९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

प्रदेश ५ मन्त्रिपरिषद् बैठकः अक्सिजनसहितका आइसोलेसन बेड थप्ने निर्णय



बुटवल ।
प्रदेश ५ सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि कोरोना विशेष अस्पतालमा आईसीयू र अक्सिजनसहितका आइसोलेसन बेड र चिकित्सकसहितका स्वास्थ्यकर्मी थप गर्ने भएको छ ।

बिहीबार बुटवलमा बसेको मन्त्रिपरिषद् बैठकले ५ सय ८३ जना जनशक्ति र तिनका लागि आवश्यक तलबभत्तामा ३ करोड ९६ लाख ३२ हजार २८० रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो । तीन महिनाका लागि करार सेवामा भर्ना हुने जनशक्तिले प्रदेश निजामती सेवाअन्तर्गतका कर्मचारीले पाएसरहको सेवा सुविधा पाउने सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

कोरोना विशेष अस्पतालमा ८० वार्डलाई अक्सिजनसहितका आइसोलेसन बेडमा परिणत गरिने छ । नियमित अक्सिजन दिनुपर्ने बिरामीलाई हाइडिपेन्डेन्सी बेडमा राखिने छ । जुन यसअघि थिएनन् ।

यससँगै लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल धागो कारखानामा अब आईसीयू १८, हाइ डिपेन्डेन्सी बेड २०, आइसोलेन बेड ३६ गरी कुल ७४ रहने छन् । त्यसका लागि १ सय ८९ जना चिकित्सकसहितको टोली खट्ने छ ।

भीम अस्पताल भैरहवामा आईसीयू बेड ५, हाइडिपेन्डेन्सी बेड १३, आइसोलेसन ९ गरी २७ बेड रहनेछन् । त्यसका लागि ७१ जना खटिनेछन् । केन्द्रीय आयुर्वेद बेलझुण्डीमा आईसीयू १०, हाइडिपेन्डेन्सी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहने छन् । त्यसका लागि १ सय ७१ जनशक्ति खटाइने छ । भेरी अस्पताल बाँकेमा आईसीयू १०, हाइडिपेन्डेन्सी बेड ३० र आइसोलेसन बेड २० गरी ६० रहनेछन् । त्यसका लागि १ सय ५२ जना जनशक्ति राखिने छ ।

मन्त्रिपरिषद् बैठकले थप बेड र जनशक्ति सञ्चालन हुने भएपछि तिनलाई आवश्यक रकम समेत निकासा गर्ने निर्णय गरेको छ ।

जसमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सबैभन्दा धेरै १ करोड ७५ लाख ११ हजार ९ सय ६० रुपैयाँ पाउने छ । भीम अस्पताल भैरहवा ६४ लाख ४७ हजार ९ सय ६०, केन्द्रीय आयुर्वेद बेलझुण्डी १ करोड ५६ लाख ७२ हजार ३ सय ६० र भेरी अस्पताल बाँकेमा १ करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ रकम निकासा गर्ने मन्त्री चौधरीले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७७ शुक्रबार ००:००  ६ : २२ बजे