९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

श्रीलंका र पाकिस्तानमा टी–२० फ्रेन्चाइज लिगको तयारी



एजेन्सी ।
कोरोना भाइरस महामारी (कोभिड–१९) को बीच नै पाकिस्तान प्रिमियर लिग (पिएसएल) तथा लंका प्रिमियर (एलपिएल) लिग टी–२० फ्रेन्चाइज क्रिकेट लिग हुने भएका छन् । यो दुवै लिग विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को समाप्तिपछि हुने जनाइएको छ ।

आइपिएल यसपटक युएईमा हुँदै छ । यो १९ सेप्टेम्बरबाट सुरु हुन्छ । यसको समापन (फाइनल) १० नोभेम्बरमा हुने आइपिएलले जनाएको छ । आइपिएल सकिएको चार दिनपछि श्रीलंकामा लंका प्रिमियर लिग प्रारम्भ हुन्छ । यसको फाइनल ६ डिसेम्बरमा हुनेछ ।

उता पाकिस्तानको पिएसएलका चार खेल नोभेम्बरमै हुनेछन् । कोरोना भाइरसको महामारीका कारण पिएसएलले नोभेम्बरमा केवल चार खेलमात्र आयोजना गर्नेछ ।

पिएसएलका सबै खेल लाहोरमै हुने जनाएको छ । यदि कोरोना भाइरस नभएको भए एलपिएल लिग २८ अगस्टदेखि २० सेप्टेम्बरसम्म हुने थियो । कोभिड– १९ का कारण यसको मिति सारिएको हो । लंका प्रिमियर लिगमा पाँच टोलीको सहभागिता रहनेछ । कोलम्बो सुपर किंग्स, गाले लायन्स, केन्डी रोयल्स, जाफना सनराइजर्स तथा डाम्बुला क्यापिटल्स रहेका छन् ।

श्रीलंकाली मिडिया तथा समर्थकहरूले लंका प्रिमियरमा सहभागी भएका फ्रेन्चाइज टोलीका नाम आइपिएलकै जस्तो भएको जनाएका छन् । सामाजिक सञ्जालमा यसको विरोध पनि भइरहेको छ । लंका प्रिमियर लिगमा विश्वका चर्चित क्रिकेटर हुनेछन् । सन् २०१९ को विश्वकप विजेता इंग्ल्यान्डका फास्ट बलर प्लेकेट तथा उपविजेता न्युजिल्यान्डका टिम साउथीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७ शुक्रबार ००:००  ६ : १८ बजे