मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेस कपिलवस्तुका नेता सोमनाथ पौडेलको काठमाडौंमा उपचारका क्रममा विहीबार साँझ मृत्यु भएको छ । कांग्रेस कपिलवस्तु नगर समितिका उप-सभापति समेत रहनुभएका वडा नं. २ निवासी ५३ वर्षीय पौडेलको काठमाडौंस्थित ग्राण्डी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पौडेललाई ज्वरो, स्वास प्रश्वासमा समस्या र निमोनिया देखिए पछि थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा लगिएको थियो । मृतक पौडेलको करिब ३ हप्ता अघिबाट काठमाडौंमा उपचार भई रहेको थियो ।
उपचारको शुरुवाती अवस्थामा उहाँको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको र श्वास प्रश्वासमा समस्या देखिए पछि सघन उपचारका लागि भेन्टिलेटरमा राखि उपचार भई रहेको थियो । पछिल्लो समयमा कोरोना परीक्षण गर्दा उहाँको रिर्पोट नेगेटिभ आए पनि फोक्सोमा समस्या देखिएको थियो ।
फोक्सोकै समस्याका कारणबाट उहाँको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।
नेता पौडेलको निधनले सिंगो कांग्रेस कपिलवस्तुलाई ठुलो क्षति भएको जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताउदै दुख व्यक्त गर्नुभएको छ । स्वर्गीय पौडेलको निधन प्रति पूर्व मंन्त्री दीपकुमार उपाध्याय, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापतिहरु राजेश आचार्य र सुधाकर पाण्डेय, नगर सभापति प्रशान्त कार्की, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह लगायतले दुख व्यक्त गर्दै मृत आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
स्वर्गीय नेता पौडेल नेपाली कांग्रेसको संगठन विस्तार, प्रचार प्रसार र पार्टी सृढृीकरण अभियानमा सक्रिय रहेका थिए । नेता पौडेलकी एक पत्नी र एक छोरा छन् ।
प्रतिक्रिया