मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको परिकल्पनामा संचालित माइक्रो टिचिङ्ग म्याराथुन २०२० को कपिलवस्तु संस्करण सकिएको छ । ७ दिनसम्म संचालित म्याराथुनमा १४ वटा लेसन प्लान र माइक्रो टिचिङ्ग प्रस्तुत भएका थिए । हरेक प्रस्तुती माथि समालोचना सहित थप कक्षा सुधारका लागि सुझावहरु माथि समेत छलफल गरिएको थियो ।
कोभिड–१९ को कारण विद्यालयहरु खुल्न नसकिरहेको अवस्थामा माइक्रो टिचिङ्ग म्याराथुन २०२० ले शिक्षकको पेशागत विकास र प्रविधिमैत्री रचनात्मक सिपमा विकास भएको सहभागी शिक्षकहरुको ठम्याइ छ ।
कार्यक्रमको समापन सत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले म्याराथुन २०२० को कपिलवस्तु संस्करणले समग्र कार्यक्रमलाई बेग्लै उचाइ दिएको बताउदै अन्य जिल्लाहरुका लागि दृस्टान्त बनेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले कपिलवस्तु जिल्ला समितिलाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाइ ज्ञापन गर्दै राज्यले पहल गर्नु पर्ने शिक्षकको पेशागत विकासको जिम्मेवारी शिक्षक संगठनले लिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्घाटन र समापन सत्रमा जिल्लाको शैक्षिक अवस्था समेटिएको वृत्त चित्र, जिल्लाको साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक झलकहरुको भिडियो सामग्रीले सहभागीहरु माझ कपिलवस्तुको चिनारी प्रस्ट पारेको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती कपिलवस्तुका अध्यक्ष रमेश पन्थीले बताउनु भयो ।
प्रतिक्रिया