९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरुः राष्ट्रियसभामा गौतम कि खतिवडा ?



काठमाडौं ।

सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

पार्टीभित्र अहिले राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतम या अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिइने भन्ने विषयमा चर्चा चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बहुमतको सदस्य उपाध्यक्ष गौतमको पक्षमा भए पनि प्रधानमन्त्री केपी शर्मा ओली खतिवडाको पक्षमा छन् ।

उनले वैशाख २० गते गौतमलाई प्रतिनिधिसभामा लैजाने पार्टीले निर्णय गरेपछि उनको राष्ट्रियसभाको बाटो बन्द भइसकेको बताए । तर, उपाध्यक्ष गौतमले तत्कालै उपनिर्वाचन गर्न सम्भव नभएकाले राष्ट्रिययसभामै जान तयार भएको बताएका छन् ।

हिजोको ओली दाहाल बीचको भेटवार्ताको क्रममा पनि ओलीले खतिवडालाई ल्याउने मनशाय व्यक्त गरेका थिए। दाहालसँगको भेटवार्ताको क्रममा एक जनालाई राजीनामा दिन लगाएर भए पनि दुवैलाई लैजाने या गौतमलाई लगे अर्थमन्त्रीमा महासचिव विष्णु पौडेललाई ल्याउनेसम्मको प्रस्ताव राखेका थिए। अर्थमन्त्री खतिवडाको कार्यावधि यही २० गते सकिँदैछ ।

उनलाई सरकारमा निरन्तरता दिन राष्ट्रियसभा सांसद बनाउनुपर्छ। प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी समयसम्म मन्त्री हुन नसक्ने संवैधानिक व्यवस्था छ। पार्टीभित्रको विवाद समाधान गर्न महासचिव बिष्णु पौडेल नेतृत्वले बुझाएको कार्यदलको प्रतिवेदनमाथि पनि सचिवालयमा छलफल हुनेछ ।

कार्यदलको प्रतिवेदनमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको कार्याधिकार स्पष्ट पारेर अघि बढ्न सुझाव दिइएको छ । पार्टीभित्रको विवाद समाधान गर्नका लागि मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेरको विषयमा पनि चर्चा चलिरहेको छ ।

कार्यदलले नै मन्त्रिपरिषद् हेरफेर गर्न सुझाएको छ । प्रधानमन्त्री ओलीले पनि मन्त्रीपरिषद् पुनर्गठनबारे सोचिरहेको सार्वजनिक रूपमै बताइसकेका छन् । मन्त्रिपरिषद् हेरफेरको चर्चा चुलिएसँगै नेकपामा मन्त्री आकांक्षी बढेका छन् ।

विवाद समाधान कार्यदलमा रहेकाहरू सरकार जाने सम्भावना बलियो छ । यसअघि बोलाइएको सचिवालय बैठक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बसेपछि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७७ बिहिबार ००:००  ३ : ५८ बजे