९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेता पौडेलले भनेः हचुवाको भरमा रेलमार्गको ठेक्का दिनुहुन्न



काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणमा सार्वजनिक रुपमा विभिन्न विषय बाहिर आएकोप्रति आफ्नो धारणा राख्नुभएको छ । उहाँले खुला प्रतिस्पर्धा विना निश्चित ठेकेदारलाई लाभ हुने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको उल्लेख गर्नुभएको छ ।

उहाँले बुधबार प्रेस विज्ञप्तिमार्फत परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभइ सार्वजनिक खरिद ऐनको दफा ८, ९, १० र १५ तथा नियमावली ९६० विपरीत रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा विना निश्चित ठेकेदारलाई दिनु गलत भएको बताउनुभएको हो ।

राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रुपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित भएको बताउँदै नेता पौडेलले रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र त्यो क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरणसमेत नगरि रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु गलत भएको उल्लेख गर्नुभएको छ ।

नेता पौडेलले तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर त्यसबारे छानबिन गर्न संसदीय लेखा समिति, विकास तथा प्रविधि समिति, नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बद्ध न्यायिक निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७ बुधबार ००:००  १० : ११ बजे