मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुका भातृसंगठनले स्वास्थ्य सामग्री वितरणको अभियान चलाएका छन् । कोरोना भाइरसको जोखिम न्यूनिकरणमा अहोरात्र खट्ने जिल्लाका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरी अभियान चलाएका हुन् ।
नेकपा सांसद विष्णु पन्थीको सहयोगमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू कपिलवस्तुले कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक सामग्री मास्क, सेनिटाइजर, हातधुने साबुन बितरण गरेका हुन् ।
अभियानको पहिलो दिन बुधबार ईलाका प्रहरी कार्यलय पिपरा, ट्राफिक प्रहरी बिट पिपरा, सशस्त्र प्रहरी बल धरमपुर, पटना स्वास्थ्य चौकी, प्रहरी चौकी मेचकुरी, शहरी स्वास्थ्य केन्द्र बरवा, राजापानी स्वास्थ्य चौकी, गजेहडा स्वास्थ्य चौकी, प्रहरी चौकी गजेहडा लगायतका स्थानमा सो सामग्री बितरण गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपालमणी ज्ञवालीले बताउनुभयो ।
विहीबार शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा सामग्री सहयोग गर्ने कार्यक्रम रहेको अनेरास्ववियू केन्द्रिय सदस्य एवम पार्टी जिल्ला कमिटी सदस्य टुकलाल गैरेले बताउनुभएको छ ।
आवश्यकता अनुसार जिल्ला भरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुका लागि सुरक्षात्मक सामग्री बितरण गर्ने लक्ष्य रहेको अनेरास्वबियू कपिलवस्तुका संयोजक बाबुराम अर्यालले बताउनुभयो ।
प्रतिक्रिया