बिष्णु कुमार आले, अर्घाखाँची ।
रुपन्देहीको भैरहवामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासी पश्चिम परासी ५ की ६५ वर्षीय महिलाको मंगलबार राती ९ः४५ बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भई भैरहवा भीम अस्पतालमा उपचारका लागि भर्ना भएकी ती संक्रमितमा उच्च रक्तचाप, मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ ।
बुटवलमा आइसियु बेड खाली नभएर यही भदौ १५ गते उनी भीम अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन् । उनमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वासप्रश्वासमा समस्या भएकोले उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो। खोकी, ज्वरो सहित गम्भीर अवस्थामा अस्पतालमा आउनु भएको थियो, शरीरमा अक्सिजनको मात्रा कम भएकोले सोही दिनबाट हामीले सञ्चालन गरेको आइसियुमा राखेर उपचार गरिरहेका थियौं तर बचाउन नसकिएको भीम अस्तालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले बताए ।
अहिले भीम अस्पतालमा ४ जना आइसियुमा, १७ जना सामान्य कोभिड आइशोलेशन बेडमा गरी २१ जना संक्रमित उपचाररत रहेको उनले बताए।
भीम अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको यो दोस्रो घटना हो। यस अघि गत सोमबार उपचाररत गैडहवा गाउँपालिका ३ का ५० वर्षीय कोरोना संक्रमित बिरामीले आइसियुमा राखेर उपचार गर्न नपाउदा ज्यान गुमाउनु परेको थियो।
तिलोत्तमाकी एकजना संक्रमित महिलाको भने अस्पताल पुर्याउँदा नै मृत्यु भएको थियो । उनको शव अहिले भीम अस्पतालमा रहेको र शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको सुचना अधिकारी पोखरेललेले बताए।
प्रतिक्रिया