काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालीनालीमा हाल्नका लागि नेपालमा युरिया मल अभाव भएपछि बंगलादेशबाट ल्याउने प्रक्रियाको विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षी (प्रधानमन्त्री) शेख हसिना वाजेदसँग टेलिफोन संवाद गरेका हुन्।
दुई प्रधानमन्त्रीबीच कुराकानी भएपछि नेपालका प्रधानमन्त्री ओलीले नेपालमा युरिया मल आपूर्ति गर्न बंगलादेशी प्रधानमन्त्री शेख हसिना सकरात्मक रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले आज मंगलबार बंगलादेशी प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका हुन्।
‘आज दिउँसो बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धका अनेकौँ पक्षबारे मैले फलदायी टेलिफोन संवाद गरें’ प्रधानमन्त्री ओलीले संवाद पछि पोस्ट गरेको ट्विटरमा लेखेका छन् ‘यो बालीको सिजनमा तत्काल युरिया आपूर्ति गर्ने मेरो आग्रहलाई उहाँले सकारात्मक रुपमा लिनुभएको छ।’
प्रधानमन्त्री ओलीले अगाडि लेखेका छन्, ‘हामीले दुई देशबीचको व्यापार, उर्जा र अर्का बीचमा पारवहनमा सहयोग बढाउनुपर्ने आवश्यकतालाई जोड दियौँ।’ नेपालमा बाली नालीमा मल हाल्ने बेलैमा अभाव हुँदा सरकारको आलोचना भइरहेको छ। नेपालमा मुख्यतः धान रोपेपछि, गहुँ, तोरी, अन्य तरकारी बाली रोपेपछि युरिया मल हाल्ने गरिएको छ।
प्रतिक्रिया