चितवन ।
चितवन मेडिकल कलेज (सीएमसी)को शिक्षण अस्पतालमा शनिबार बिहान एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाराको निजगढ–७ बस्ने ४७ वर्षकी संक्रमित महिलाको निधन भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
सीएसीमै शुक्रबार बिहान मात्रै पनि एकजना संक्रमितको निधन भएको थियो । चितवनमा हिजो मात्रै तीनजना संक्रमितको ज्यान गएको थियो ।
शनिबार बिहान सात बजेर ५३ मिनेट जाँदा ती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मिर्गौलासम्बन्धी पीडित रहेको अस्पतालले बताएको छ । साउन २६ गते सीएमसीमा भर्ना भएर उनको डायलसिस भइरहेको थियो ।
श्वासप्रश्वासमा जटिलता देखिएपछि परीक्षण गरेर हेर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकेको अस्पतालको भनाइ छ ।
सीएमसीमा अहिले पनि ४१ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । तीमध्ये १९ जनाको अवस्था गम्भीर र जोखिमपूर्ण रहेको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए ।
चितवनमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । तीमध्ये चारजना चितवनका हुन् । अरु अन्य जिल्लाका हुन् । भरतपुरमा मृत्यु हुने संक्रमितमध्ये तीनजना हेटौंडाकै छन् । बारासहित, गोरखा र कैलालीका एक एकजना व्यक्तिको पनि संक्रमण देखिएपछि उपचारकै क्रममा भरतपुरमा ज्यान गएको थियो ।
चितवनमा पछिल्लो समय तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । भरतपुर अस्पतालबाट प्राप्त विवरणअनुसार शनिबार बेलुकासम्म संक्रमितको संख्या चितवनमा ५३० नाघेको छ । तीमध्ये १२८ जना मात्रै निको भएका छन् । साउन २१ गतेयता संक्रमण तीव्र भएको हो । साउन २१ सम्म कुल संक्रमित जम्मा ११६ जना मात्रै थिए ।
प्रतिक्रिया