८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पाल्पाः कोरोना सङ्क्रमित महिलाको मृत्यु



पाल्पा ।
पाल्पामा कोरोना भाइरस सङ्क्रमित एक महिलाको ज्यान गएको छ । तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा तानसेन ८ मदनपोखराकी ३० वर्षीया महिलाको ज्यान गएको मेडिकल कलेजले पुष्टि गरेको हो ।

गएको भदौ ७ गते कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी मेडिकल कलेजको आइसोलेशन वार्डमा उहाँको उपचार भइरहेको थियो । पहिलेदेखि नै मुटुसम्बन्धी समस्या देखिएकी महिलामा कोरोनाको लक्षण देखिएपछि परीक्षणका लागि स्वाब भैरहवा प्रयोगशाला पठाइएको थियो ।

उपचारका क्रममा मुटुको समस्या बढ्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा बेलुकी उहाँको ज्यान गएको हो ।

ट्राभल हिस्ट्री नभएकी उहाँलाई कोरोना पुष्टि भएपछि बिहीबार उहाँका आफन्त र सम्पर्कमा आएकाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसअघि कोरोना सङ्क्रमणबाट पाल्पामा एक पुरुषको ज्यान गएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७ शुक्रबार ००:००  ८ : २७ बजे