८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा सङ्क्रमण देखिएन



रुपन्देही ।

कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ ।
बुटवलबाट कोहलपुर मेडिकल कलेज रेफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिका ११ को नहरपुरकी २८ वर्षीया गर्भवतीको यही भदौ ६ गते बिहान शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत निकालिएको छोरीको बिहीबार रिपोर्ट आएको हो ।
अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक रहेको अस्पतालले जनाएको छ ।

शिशुको रिपोर्ट आए पनि आमाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । उहाँको रिपोर्ट नेगेटिभ आए अस्पतालबाट डिस्चार्ज गरिने उपनिर्देशक श्रेष्ठले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना भाइरस सङ्क्रमित गर्भवतीको उपचारको व्यवस्था नभएपछि उहाँलाई भदौ १ गते कोहलपुर रेफर गरिएको थियो । रासस

प्रकाशित मिति : १२ भाद्र २०७७ शुक्रबार ००:००  २ : २६ बजे