मायादेवी अनलाइन, जितपुर ।
पूर्ण संस्थागत प्रसुती सेवा प्रोत्साहनका लागि वाणगंगा नगरपालिकाले आजबाट निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरपालिकाले शुन्य होम डेलिभरी कार्यक्रम अन्तरगत निशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको हो । यस संगै अब वाणगंगा भित्र बसोबास गर्ने गर्भवती महिलाले प्रसुतीका लागि नगरपालिका भित्र रहेका ३ वटा बर्थिङ सेन्टर सम्म निशुल्क एम्बुलेन्स मार्फत पुग्न पाउनेछन् ।
नगरपालिका भित्र रहेका ३ वटा बर्थिङ सेन्टर पिपरा अस्पताल पिपरा, हथौसा स्वास्थ्य चौकी हथौसा र कोपवा स्वास्थ्य चौकी कोपवा सम्म पुग्नका लागि नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले बताउनुभयो । यदि यी ३ वटा बर्थिङसेन्टरबाट रिफर गर्नपरेमा बुटवल सम्मकै भाडा नलाग्ने गरी नगरपालिकाले ब्यवस्था मिलाएको प्रवक्ता पौडेलले मायादेवीलाई बताउनुभयो ।
यसका लागि नगरपालिकाले विभिन्न ६ वटा एम्बुलेन्स संचालक संस्था संग सम्झौता गरेको छ । नगरपालिकाले पिपरा अस्पताल, कपिलवस्तु जेसिस, नेपाल रेडक्रस सोसाइटी वाणगंगा शाखा, सि एण्ड सि अस्पताल, वाणगंगा यातायात ब्यवसायी समिती र शान्ती सृजना युवा क्लव संग सम्झौता गरेको छ ।
कुनै पनि महिलाको बच्चा जन्माउन नसकेकै कारण ज्यान नजाओस् र सम्पूर्ण नागरिकको अस्पताल सम्म पहुच पुर्याउने उद्देश्यले नगरपालिका भित्र यो सेवा सुरु गरिएको मेयर मंगल प्रसाद थारुले बताउनुभएको छ । उहाले ६ वटा एम्बुलेन्स मध्ये आफुलाई पायक पर्ने एम्बुलेन्स लाई सम्पर्क गरी निशुल्क सेवा लिन सबैमा अनुरोध गर्नुभएको छ ।
यस्तै उपमेयर चक्र अर्यालले वाणगांनगरपालिकामा नो होम डेलिभरीको नीति नगरपालिकाको नगरसभाले लिएको भन्दै यसको कार्यन्वय आजबाट गरिएको बताउनुभयो ।
प्रतिक्रिया