मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना संक्रमण फैलिएपछि कृष्णनगर भन्सारमा अहिले सुनसान भएको छ । भन्सारमा कार्यरत कर्मचारीहरू धमाधम कोरोना संक्रमित हुन थाले पछि कर्मचारीहरू भागाभाग गरेका छन् । केही दिनअघिसम्म भन्सारमा ३ जना कर्मचारी संक्रमित भएका थिए ।
बिहीबार थप ५ कर्मचारी सहित ११ जना कोरोना संक्रमित भएपछि कर्मचारीहरू त्रसित भएर भागाभाग गरेका हुन् । भन्सार गुल्ममा रहेका सशस्त्र प्रहरी र भन्सार क्लीयरिङ एजेन्ट समेत संक्रमि भए पछि बिहीबार भन्सार कार्यालय सुनसान बनेको हो । भन्सारमा कोरोना फैलिएपछि कृष्णनगरको निजी निवासमा १० दिन देखि क्वारेन्टिनमा बस्दै आएका भन्सार प्रमुख बिष्णु कुमार पौडेलले कारोनाका कारण भन्सार सुनसान भएको बताए ।
कोरोनाका कारण भन्सारका कर्मचारीहरू तनावमा छन् । अहिलेसम्म ८ जना कर्मचारीहरू संक्रमित भएका छन् । ‘भन्सारका कर्मचारी र ५ जना क्लीयरिङ एजेन्ट समेत संक्रमित भएका छन, सबै डराएकाले अहिले भन्सार सुनसान जस्तै बनेको छ’ भन्सार प्रमुख पौडेलले भने ।
बिहीबार भन्सारमा कारोवार शुन्य भएको र कोही पनि भन्सार एजेन्ट समेत नआएको उनले बताए । भन्सारमा केही कर्मचारीहरू खटिएपनि एजेन्ट नआउँदा कोरोवार नभएको उनले बताए । कृष्णनगर भन्सारमा ३४ जना कर्मचारी छन् । कोरोवार नभएपछि जिल्लाको सुठौली र भैरहवाको बेलहिया नाकाबाट सामानहरू पैठारी हुने बताइएको छ । कृष्णनगर भन्सारमा वार्षिक ४ अर्ब बढी राजस्व उठने गरेका छ ।
प्रतिक्रिया