११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बाँकेमा कोरोनाबाट पाँचौ व्यक्तिको मृत्यु



नेपालगञ्ज ।
बाँकेमा कोरोनाबाट पाँचौ व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, मंगलबार राति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगञ्जकै एक-एक जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

नेपालगञ्जका ३७ वर्षीय पुरुषको दुवै फोक्सोमा निमोनिया भएपछि भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

बिहान १० बजे भर्ना गरिएका उनको ११ बजे स्वाव लिइएको थियो । भोलिपल्ट ९ गते दिउँसो तीन बजे कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।

मेडिकल कलेजमा उपचार रहेका उनका अवस्था बिग्रिँदै गएपछि नेपालगञ्जबाट भेन्टिलेटरसहित कोहलपुर मेडिकल कलेजमा सारेर उपचार भइरहँदा मंगलबार राति एक बजेर ३० मिनेटमा मृत्यु भएको फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।

यसैबीच, आज बुधबार जिल्लाबाट ६ जना डिस्चार्ज हुँदैछन् । साउन २८ गते कोरोना पुष्टि भएका उनीहरु होटल र खजुरास्थित कोरोना विशेष अस्पताल रहेका थिए ।

बाँकेमा अहिलेसम्म ८ सय ४४ जना संक्रमित भएका छन् । त्यसमा ५ जनाको मृत्यु भएको छ । ६ सय ६० जना डिस्चार्ज भएका छन् । एक सय ७९ जना उपचारमा रहेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७ बुधबार ००:००  ७ : ४४ बजे