मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँचीको पुरानो विद्यालय हरिहर संस्कृत साधारण तथा प्राविधिक विद्यालयमा लामो समय देखि विद्यालय व्यवस्थापन समिति गठनमा अन्यौलता देखिएको छ । गत कार्तिक महिनामा व्यवस्थापन समितिको म्याद सकिए पनि झण्डै एक बर्ष वित्न लाग्दा पनि समिति गठन हुन नसकेको हो ।
पटक पटक समिति गठनको कुरा उठेपनि मूर्त रुप दिन नसक्दा यसको असर विद्यालय सञ्चालनमा देखिन थालेको स्थानीयबासीले बताएका छन् ।
समिति गठन नहुँदाको प्रत्यक्ष असर शिक्षकको तलवभत्तामा देखिएको छ । विद्यालयले नीजि स्रोतमा राखेका शिक्षकले लामो समय देखि तलव पाएका छैनन् ।
आजसम्म सहमतिको आधारमा समिति गठन हुँदै आएपनि अहिले आएर सहमति हुन नसकेको अभिभावक बताउँछन् । गाउँको विद्यालय भएको कारण सबैको सहमतीमा समिति गठन होस भन्ने चाहना अभिभावकको छ ।
तर, विद्यालय राजनीति दाउपेजको शिकार बन्दा अभिभावकको चाहना पूरा हुन सकेको छैन् । ५ सय विद्यार्थीले अध्ययन गर्दै आएका हरिहर १९९४ मा स्थापना भएको विद्यालय हो । इतिहासमा सधै सबैको सहमति र सहकार्यबाट समिति गठन हुँदै आएपनि योपालि अनावश्यक राजनीति घुसाउने काम भएको अभिभावक बताउँछन् ।
पाणिनी गाउँपालिकामा रहेको हरिहरको व्यवस्थापन समिति गठनमा स्थानीय तहका जनप्रतिनिधिले राजनीति घुसाउन खाजेको अभिभावकको आरोप छ । गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाले पनि समिति गठनमा प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयले आरोप लगाएका छन् ।
‘केही दिन पहिला गाउँपालिकाका शिक्षा शाखा प्राविधिक सहायक कृष्ण प्रसाद पोख्रेलले राजीनिति दल र सरोकारवाला कसैलाई नबोलाई समिति गठन गरौं भने, नाम नबताउँने शर्तमा मायादेवी अनलाइनसंग ती स्थानीयले भने, ‘सरकारी तवरकै व्यक्तिको गैरजिम्मेवारी कृयाकलापले विद्यालय बन्दी बन्यो ।’
शिक्षा शाखाका प्राविधिक सहायक पोख्रेलले विद्यालयका प्रअ र केही शिक्षकलाई भेटेर हामी मात्रै बसेर समिति गठन गरौं भन्ने प्रस्ताव गरेको ती गाउँलेको आरोप छ ।
बर्षौ पुरानो र इतिहास बोकेको विद्यालयमा चुनाव नगराई सहमतीमा समिति गठन गर्नुपर्नेमा धेरैजसो अभिभावकको चाहना रहेको उनले बताए । तर, विद्यालयमा नेकपा र कांग्रेसको जुवाँको लडाईका कारण समिति गठनमा अन्यौलता बढेको आरोप स्थानीय गाउँलेको छ ।
प्रतिक्रिया