११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

संकटमा कपिलवस्तु प्रहरीः ३७ जना कोरोना संक्रमित, दरबन्दी अनुसार जनशक्ति छैन !



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक ( एसपी ) नवराज अधिकारी र डिएसपी (प्रवक्ता) सुनिल मल्ल आजभोली कोरोना नियन्त्रणमा उच्च मनोबलका साथ लागि रहनु भएको छ ।

ज्यानलाई जोखिममा राखेर कोरोना महामारीको लडाइँमा अग्रपंतिमा लडिरहेको अवस्थामा जुन दिनदेखि प्रहरीमाथि नै हातपात र हमला भई गम्भिर घाइते बनाइयो त्यो दिनदेखि एसपी अधिकारी र डिएसपी मल्लमा केही तनाव भए पनि रत्ति मनोबल नगिराई काम गरिरहनु भएको बुझ्न सकिन्छ । जिल्लाभर भएका प्रहरी गतिविधिले यो बताउँछ ।

शुद्धोधन गाउँपालिकास्थित लवनीको त्यो घटनाले उहाँहरु मात्र होइन जिल्लाको सिंङगो प्रहरी फोर्सलाई सोचमग्न बनाएको छ । जनताको जिउधनको सुरक्षा र कोरोना सचेतनामा अहोरात्र खटिएको अवस्थामा प्रहरीलाई आत्मबल दिनु पर्ने, सहयोग गर्नु पर्नेको सट्टा समुदायस्तरबाट टाउको फुट्ने गरी आक्रमण हुन थालेपछि प्रहरी अहिले नया रणनीतिमा छ ।

त्यसैमाथि जिल्लाको दरबन्दी अनुसार जनशक्ति नहुनु र शान्ति सुरक्षामा खटिएका बिभिन्न युनिटका ३७ जना प्रहरी जवान कोरोनाले ग्रसित भएपछि प्रहरी थप संकटमा छ । यस्तो समस्याका बाबजुत पनि समुदायका अरु थुप्रै समस्या र अपराधसंग पनि जुध्नु पर्ने भएकाले प्रहरीलाई अहिले काम गर्न निकै चुनौति परेको हो ।

यस्तो छ स्थिति

पहिलो कुरा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दरबन्दी अनुसार प्रहरी नै छैनन् । जिल्लामा प्रहरीको दरबन्दी १ हजार १४ जना रहेकोमा अहिले मात्र ८ सय ४७ जनाले मुस्किलले काम गरिरहेका छन् । दरबन्दी भन्दा १ सय ६७ प्रहरी जनशक्ति कम भएपछि जिल्लाका ३६ युनिटमा सही ढंगले काम गर्न प्रहरीलाई पक्कै पनि सजिलो भएको छैन । यो आम समुदायले बुझ्ने कुरा हो ।
तथ्यांक विश्लेषण गर्दा अहिले १ हजार १४ प्रहरीले काम गर्नु पर्ने ठाउँमा जम्मा ७ सय ९९ जना प्रहरीले सक्रिय भएर कोरोना तथा शान्ति सुरक्षासंग जोडिएका कामहरु गरिरहेका बुझिन्छ ।

इन्स्पेक्टर लाल बहादुर विकका अनुसार जिल्लामा महिला प्रहरीको संख्या ७४ रहेको छ । कोरोनाको मुख्य लडाइँमा पुरुष प्रहरी नै फिल्डमा हुनहुन्छ भने महिला मुद्धा, कोरोना सचेतना लगायतका कार्यक्रममा महिला प्रहरीहरुले काम गरिरहनु भएको छ । इन्सपेक्टर विक भन्नुहुन्छ, “महिलाका बच्चा हुन्छन्, कतिपय काममा उहाँहरुको ड्युटी क्षेत्रमा पुरुष प्रहरीले नै सघाउनु पर्ने अवस्था आउँछ । महिला प्रहरीहरुले राति १० बजेसम्म मात्र काम गर्नुहुन्छ भने त्यसपछि रातभर उहाँहरुको स्थानमा पनि पुरुषले नै काम गर्नु पर्ने स्थिति छ ।” महिला प्रहरीको समस्या र संवेदनशिलता बुझ्नु पुरुषको दायित्व पनि हो, उहाँले मायादेवीसंग भन्नुभयो ।

त्यसैमाथि कोरोना महामारीले कपिलवस्तु प्रहरी नराम्ररी गिजोलिएको छ । समुदायस्तरमा धमाधम कोरोना संक्रमण फैलिएपछि अहिले ८ सय ४७ जना प्रहरीमध्ये हालसम ३७ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । धेरै आइसोलेट छन् भने निको भएर केही प्रहरी काममा फर्केका छन् । पिसीआर जाँच नभएका तर लक्षण ( ज्वरो आउने, टाउको दुख्ने, रुघा लाग्ने ) आदि देखिएका थप १० जना प्रहरी जवान् पनि सक्रिय काम गर्न सक्ने अवस्थामा छैनन् ।

उनीहरुलाई छुट्टै निगरानीमा राखिएको छ । अन्यमा पनि डर त्रास उत्तिकै रहेको अवस्थामा अहोरात्र फिल्डमा खटिनु परेको छ । कोरोना संक्रमण नभए पनि स्वयम् एसपी अधिकारी र डिएसपी मल्ललाई पनि कहिले टाउको दुख्ने, कहिले रुघा लाग्ने आदि समस्या भएपछि तातो पानी पिएरै जनताको जिउधनको सुरक्षामा अहोरात्र खटिनु परेको छ ।

सई, असई, हवल्दार, प्रहरी जवान्, कार्यालय सहयोगी कसैलाई पनि कोरोनाले नछाडेपछि अहिले कपिलवस्तु प्रहरी ठुलो कोरोना संकटमा काम काम गरिरहेको छ । तै पनि प्रहरीलाई सहयोग नभएर मास्क बाँड्न हिँडेका माथि सामुहिक रुपमा सांघातिक हातपात भई काम गर्ने वातावरण दिइएको छैन ।

डिएसपी मल्लले कोरोनासंग जुध्ने मात्र काम आफूहरुको नभएको बताउँदै प्रश्न गर्नुहुन्छ, जिल्लाभर बिभिन्न मुद्धा, मामिला, नदीजन्य पदार्थको तस्करी, चोरी, हत्या हिंसा, बलात्कार आदिजस्ता आपराधिक घटना दैनिक १० १२ संख्यामा भइरहन्छन् प्रहरी कहाँकहाँ पुगोस् ? ‘कुनै एउटा घटना घट्यो भने कम्तिमा पनि ८ १० प्रहरी त्यहाँ जानै पर्ने हुन्छ । त्यही समयमा अर्को स्थानमा अर्को घटना घट्यो भने कसलाई पठाउने ?’ ।

कहिँकतै मुठभेडका घटना घटेको खण्डमा ठुलो संख्यामा प्रहरी परिचालित हुनुपर्ने स्थिति हुन्छ । त्यस्तो बेला अर्को कुनै ठाउँमा ठुलो घटना घट्यो भने प्रहरी समयमा जान सक्दैन अनि प्रहरी समयमा आएन भनेर उल्टै गुनासो आउँछ । यसैकारण बिभिन्न आपराधिक घटना घटाएर आरोपीत । अपराधी । तस्करहरु फरार हुन सफल हुन्छन् । यस्तो संकटमा कपिलवस्तु प्रहरी गुज्रिएको छ ।

प्रहरी प्रमुख एसपी नवराज अधिकारीले फिल्डमा रहेका प्रहरी जवानलाई कोरोना देखिनु र आवश्यक जति जनशक्ति नहुँदा काम गर्न निकै समस्या भएको सुनाउनु हुन्छ । मुख्य गरी जिल्लाको दक्षिणी सिमा जोडिएका स्थान र ठाउँहरुमा काम गर्न हम्यहम्य भएको उहाँको भनाई छ ।

मर्यादपुरदेखि तौलिहवासम्म, चन्द्रौटादेखि कृष्णनगरसम्म धेरै भीँडभाड हुने भन्दै त्यहाँ बाक्लो संख्यामा प्रहरी आवश्यक रहेको बताउँदै अधिकारीले कोरोना महामारीमा सचेतना लगायतका कार्यक्रममा ठुलो संख्यामा प्रहरी खटिनु पर्ने भएकाले अहिले काम गर्न निकै समस्या भएको छ । न्यून जनशक्ति लिएर पनि कोरोना संकट मोचनमा अझै पनि आफूहरुले उच्च मनोबलको साथ काम गरेको उहाँले बताउनु भयो ।

जस्तोसुकै अपराध र घटना पनि मिलाइदिनु पर्ने राजनैतिक दबाब, स्वतन्त्र ढंगले काम गर्न नपाउने वातावरण इत्यादिले पनि काम गर्न समस्या भएको उहाँ सुनाउनु हुन्छ । कुरो नबुझ्ने समाज, खुला सिमाना हुँदा हुँदै पनि प्रहरीकै सक्रियताले बिभिन्न अपराध, हत्या, हिंसा, तस्करी आदिमा नतिजा आउने गरी काम भइरहेको भन्दै प्रहरीलाई सहयोग गर्न र हौसला प्रदान गर्न उहाँले विशेष आग्रह गर्नुभयो ।

दरबन्दी अनुसार जनशक्ति व्यवस्थापन गर्ने विषयमा गृहमन्त्रालयमा जानकारी गराइसकिएको भए पनि अझैसम्म मिलान नहुँदा सोचेजस्तो नतिजा दिन नसकिएको अधिकारी स्विकार्नु हुन्छ । जस्तोसुकै स्थितिको सामना गरेर भए पनि आफू हुँदासम्म जिल्लामा शान्ति सुरक्षा कायम गर्ने सवालमा इमान्दार भएरै काम गर्ने, कसैसंग मिलिमतो नगर्ने प्रतिवद्धतता उहाँले जनतासंग मायादेवीमार्फत् जनाउनु भयो ।

व्यक्तिगत सम्बन्ध जोडिएका कतिपय घटनामा प्रहरी पुगेन, प्रहरीले शान्ति सुरक्षा दिएन भनेर कतिपय मिडियामा आउँदा दुख लाग्ने बताउँदै सबैले प्रहरीलाई सहयोग गरी आत्मबल प्रदान गर्न उहाँको आग्रह छ । घटना घट्ने वित्तिकै प्रहरीसंग सम्पर्क गरेमा धेरै समस्या हल हुने भन्दै समयमा सूचना दिन आग्रह गर्नुभयो ।

लकडाउनको बेला चोरीमा घटना र गुनासा ज्यादा आइरहेकाले स्वयमलाई् सचेत रहन, घर छोडेर कतै नजान, रुपैयाँ, गरगहना र मुल्यवान् चिजहरु घरभित्र नराख्न पनि एसपी अधिकारीले सबैलाई आग्रह गर्नुभयोे । जिल्लाभर रहेको बिभिन्न युनिटले प्रभावकारी काम हुन नसकेको जनगुनासो व्याप्त भएको अवस्थामा यसमा पनि सुधार हुने उहाँले बताउनु भयो ।

कोरोनाविरुद्ध जित हासिल गर्न सर्वसाधारण नै सचेत रही आवश्यक कामभन्दा बाहिर नजाने, मास्क प्रयोग गर्ने, भीँडभड नगर्ने, नगराउने, व्यक्तिगत दुरी कायम गर्ने, तातो पानी हरसमय पिउने काम गरेमा कोरोनाविरुद्धको लडाइमा जित हासिल गर्न सकिने उहाँको ठम्याइ छ ।

आफू संक्रमित भईभई कोरोनाविरुद्ध डटेर लागेका प्रहरीमाथि हातपात गर्ने कार्यले आफूहरु दुखी रहेको भन्दै एसपी अधिकारीले अबदेखि त्यसो नगरी सघाएर गिरेको प्रहरीको आत्मबल उँचो बनाउन जिल्लाबासीलाई उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ८ भाद्र २०७७ सोमबार ००:००  १ : ०० बजे