११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

विशवा खोलामा पुल बन्ने, खबर बाहिरिएपछि स्थानीयबासी हर्षित



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाकोे विशवा खोलामा पुल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. १ मा पर्ने नेवलगञ्ज विशवा खोलामा पुल बन्न लागेको हो ।

गाउँपालिकाको सुदुर पश्चिममा भौगोलिक बनोटले अति विकट क्षेत्रमा पर्ने विशवा खोलामा पुल निमार्ण हुन लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

पुल बन्न लाग्दा वर्षौदेखि समस्या झेल्दै आए पनि अब समस्याबाट मुक्ति पाइनेमा स्थानीयबासी ढुक्क छन् ।

वर्षायाममा पुल नभएको बेला कतिपयले ज्यानसमेत गुमाउनु परेको थियो । अब अकालमै कसैले पनि ज्यान गुमाउनु नपर्ने स्थानीय कृपाल चौधरीले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष थापा विशेष सक्रिय भई यस ठाउँको पिडा बुझि पुल बनाउनको लागि अहम भुमिका निर्वाह गरेर योजना पार्नुभएकोमा गाउँलेले धन्यवाद दिएका छन् ।

लामो समयको अन्तरालपछि गाउँपालिकाको पहलमा विशवामा खोलामा पुल बन्न लागेको खबर पाउँदा आफु हर्षित भएको अर्का स्थानीय हरि नारायण चौधरीले बताउनुभयो ।

‘पुल नहुँदा आवतजावत गर्न, छोराछोरीलाई विद्यालय पठाउन निकै समस्या थियो, बाढी आउँदा घण्टौसम्म कुरेर बस्नुपर्ने बध्यता हट्नेभयो’ चौधरीले सुनाउनुभयो ।

विशवा खोला भई जवाबैराठ, नेवलागञ्ज, गोबरहवा, नौडिहवा, तिलकहवा, मधनगरा लगायत दर्जनौ गाउँका आवातजावत हुने गरेको छ ।

एसेटिक एनबी.जेभी. निमार्ण व्यवसायी बुटवल रुपन्देहीले पाएको उक्त पुलको ठेक्का असार २६ गते सम्झौता भई २०७८ फागुन मसान्तसम्म सम्पन्न गरिने ईन्जिनियर तिलक बहादुर गाहाले जानकारी दिनुभयो । ३ करोड ८४ लाखको लागतमा पुल बन्न लागेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ८ भाद्र २०७७ सोमबार ००:००  ६ : ४८ बजे