११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आज थारु समुदायको महत्वपूर्ण अट्वारी पर्व, मुख्यमन्त्री पोख्रेलद्धारा शुभकामना !



मायादेवी अनलाइन, चार नम्बर ।
आज थारु समुदायको महत्वपूर्ण अट्वारी । धुमधामपूर्वक मनाईँदै छ । विशेष गरी पश्चिम नेपालका थारु समुदायले निकै आस्था र विश्वास साथ यो पर्व मनाउने गर्दछन् । अघिल्लो साँझ दर खाएका थारु समुदायले आज दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्दछन् । पश्चिम नेपालका बाँके, बर्दिया, दाङ्ग, कैलाली कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्दछन् । थारु समुदायको यो प्रमुख पर्व मध्येको एक हो ।

आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ । अट्वारीमा रोटी काक्रा, दही, केरा, वेलौटीका अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भातको फरहार गरिन्छ । फरहार गरिसकेपछि आफना चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ । कोरोनाको कारण सार्वजनिक कार्यक्रम नभए पनि घरघरमा मिठा परिकार बनाई आपसमा शुभकामना ब्यक्त गर्दै यो पर्व मनाइदै छ ।

यसै पर्वको अवसरमा मुख्य मन्त्री शंकर पोख्रेलले शुभकामना दिनुभएको छ । थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा समस्त थारु समुदायमा सुख,शान्ति,समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु , उहाँद्धारा जारी शुभकामनामा उल्ललेख छ ।

पूर्णपाठ ।

अट्वारी पर्वको शुभकामना
थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा समस्त थारु समुदायमा सुख,शान्ति,समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल बहुभाषिक र बहुजातीय मुलुक हो । विभिन्न जात जाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको छ । समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएका छन् । यो नेपाली समाजको विशेषता अरुका लागि पनि अनुकरणीय छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको छ । अहिले मुलुक संविधानको व्यवहारिक कार्यान्वयनको यात्रामा अघि बढेको छ । संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्न पाउने वातावरण बनेको छ । प्रदेश सरकारले थारु समुदायको महत्वपूर्ण पर्वको सम्मानमा दाङ, बाँके र बर्दियामा समुदायगत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यतिखेर हामी विश्व महामारी कोभिड-१९ विरुद्धको संघर्षमा केन्द्रीत छौं । राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि संवेदनशील हुँदै काम गरिरहेको छ । राज्यले स्वास्थ्य सुरक्षाका लागि चालेका कदममा नागरिकको पूर्णतः पालनाले मात्रै कोभिड-१९ लाई जित्न सकिन्छ । चाडपर्व भन्ने बित्तिकै उल्लासको वातावरण हुन्छ । तर यो वर्ष चाडपर्वहरुमा उल्लासको वातावरण छैन् ।

कोभिड-१९ विरुद्धको संघर्षमा विजय हासिल भएपछि आगामी वर्षहरुका चाडपर्वहरु उल्लास र खुशीका साथ मनाउने छौं । अहिले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी आफू बचौंं, अरुलाई पनि पालनाको लागि प्रेरित गरौं । सिंगो समाजलाई कोरोना मुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगको लागि हार्दिक अपील गर्दछु । अन्त्यमा, अट्वारी पर्वको अवसरमा थारु समुदायमा हार्दिक मंगलमलय शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७७ भदौ ७

प्रकाशित मिति : ७ भाद्र २०७७ आइतबार ००:००  ६ : १९ बजे