११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

निर्मला हत्याकाण्डलाई झस्काउने खालको अर्को भयानक घटना रुपन्देहीमा (भिडिओ)



मायादेवी अनलाइन, चार नम्बर ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई बर्ष काटेको केही समयपछि ठिक त्यसैलाई झस्काउने गरी रुपन्देहीमा अर्को भयानक घटना घटेको छ । कञ्चन गाउँपालिका १ गजेडीकी अन्दाजी १६/१७ बर्षीया बालिकाको मृत्यु भएको १६ दिनपछि यसको वास्तविकताबारे कुराहरु सार्वजनिक हुन थालेका छन् ।

गत साउन २२ गते त्यहाँको स्थानीय विद्यालयमा १० कक्षामा अध्ययनरत करुणा घर्ती घना जंगलमा मृत भेटिइन् । शरीरका अर्धवस्त्र निकालिएको अवस्थामा जंगलको बीचमा शव फेला परेपछि परिवारको मुटुले थातथलो छोड्यो । करुणाको आत्महत्यामा परिवारलाई विश्वास लागेन । उनीहरुलाई लाग्यो करुणाको आत्महत्या नभएर हत्या हो । त्यसपछि उनीहरुले प्रहरीलाई गुहारे । प्रहरी घटनास्थलमा आई करुणाको शव उठायो र प्रादेशिक अस्पतालको पोष्टमार्टम कक्षमा लग्यो । त्यसपछि अस्पतालले शो शवको पोष्टमार्टम गर्न नसकिने बताएपछि काठमाण्डौँ लैजान आग्रह गरे अनुसार लगियो । पोष्टमार्टम पनि भयो । पोष्टमार्टम रिपोर्टमा आत्महत्या नै देखियो । त्यसपछि करुणाको अन्त्येष्टि पनि भयो ।

पोष्टमार्टममा आत्महत्या भनिए पनि परिवारले यसलाई स्विकारेनन् । आमाबुबाले करुणाको बलात्कारपछि हत्या भएको हुनसक्ने भन्दै सबै बेलीविस्तार प्रहरीलाई पनि सुनाए र यसको स्पष्ट छानविन माग गरे । यद्यपि बलात्कारको रिपोर्ट अझै आएको छैन् ।

न्याय पाउने आशामा करिब आधा महिना कुर्दा पनि यस घटनामा प्रहरीले वेवास्ता गरेपछि करुणाका परिवारले गत शुक्रबार इलाका प्रहरी कार्यालय घेराऊ गर्न बाध्य भए । त्यसपछि घटनाले एकाएक चर्चा पाउन थालेको छ । सुरुमा लुकेको घटनामाथि जब प्रहरीको भूमिका प्रभावकारी देखिएन । तब करुणाका परिवारले न्यायको भीख माग्दै मिडियादेखि सरोकारवालालाई गुहार्न थालेका छन् । यस घटनालाई स्थानीय मिडियादेखि बोल्नु पर्ने मानिसले पनि वेबास्ता गरेपछि उनीहरुले मायादेवीलाई गुहारे । त्यसपछि वास्तविकता बुझ्न हामी भदौ ६ गते शनिबार करुणाको घरमा पुगेर केही जानकारी लिएका छौँ । जसले एकपटक फेरि कञ्चनपुरकी निर्मला पन्तको जसरी बलात्कारपछि विभत्स हत्या भएको थियो त्योभन्दा पनि भयानक गतिविधि भएको पाइयो ।

यस्तो छ खास रहस्य !

मृतक करुणा उमेरले अन्दाजी १५÷१६ बर्षकी । उनको गाउँकै एक युवक सुमन मगरसंग तीनचार महिनाअघिदेखि चिनजान भएको थियो । सो चिनजानपछि विस्तारै उनीहरु नजिकिदै गरेको उनीहरुले म्यासेन्जरमा गरेको कुराकानीबाट बुझ्न सकिन्छ । घटना हुनुभन्दा अघि साउन २२ गते सुमनले करुणालाई फेसबुक च्याटमा राति साढे ११ बजे घर नजिकैको बारीमा बोलाएको देखिन्छ । त्यसपछि करुणा घरबाट निस्किइन् । परिवारले उनी निस्केको करिब २ घण्टापछि मात्र थाहा पाए । आमा राति १ बजे शौच गर्न भन्दै बाहिर निस्कने क्रममा आमाले छोरीलाई विस्तरामा देखिनन् । तर करुणाको मोबाइल भने विस्तारामै थियो । त्यसपछि आमा मुर्छामा परिन् र गाउँलेलाई गुहारिन् । घरका सबै सदस्यमा रोइकराई भयो । राति भएको हुँदा गाउँले खोजी गर्न असमर्थ भए ।

यता आमाले भने मोबाइल चेक गरिन् । मोबाइलमा आएको कल हिस्ट्रिका आधारमा आमाले धमाधम उक्त नम्बरमा फोन लगाइन तर फोन उठेन । पटकपटकको फोन काट्ने काम भयो । त्यसपछि आमा झन् आत्तिएको मायादेवीले जानकारी पाएको छ । छोरीले सो रात अलिकति आफ्ना कपडा पनि लिएर गएको परिवारले बताएका छन् ।

आमा, बुबा, वृद्ध हजुरआमा र भाइ करुणाको पीरले रातभर निदाएनन् । विहान भयो । आमाले छिमेकी एक केटोलाई शंका गरिन् र छिमेकीलाई उक्त केटोको घरमा हेर्न भनि पठाइन् । एक जना छिमेकी सो केटाको घरमा पुगे । त्यहाँ पुग्दा सुमन भनिने केटो मात्र थियो, करुणा थिइनन् । त्यसपछि परिवारलाई झन् डर भयो छोरी कहाँ गइन् भनेर ? गाउँलेको पनि आशंका त्यही केटामा थियो । किनकि उनीहरुको हेलमेलबारे छिमेकीलाई पनि थाहा थियो । त्यसपछि प्रहरीसहितको टोलीले करुणाको खोजतलास सुरु गरे ।

त्यो केटो पनि करुणाको खोजतलासमा भिँड्यो । अचम्मको कुरो त यो छ कि सुमन भन्नेले नै करुणाको अवस्थाबारे बताएको पाइएको छ । त्यसपछि संगसंगै उनीहरु नजिकैको जंगलमा छरिएर लागे । मायादेवीलाई बताइए अनुसार करिब २५ । ३० जनाको टोली जंगलमा परिचालित भए ।

जंगल छिरेपछि करिब २ सय मिटर टाढा करुणाले लगाएका कपडाहरु एकएक गरी भेटिन थाले । सुरुमा करुणको भित्री वस्त्र भेटियो । त्यसपछि चप्पल पनि भेटिएको देखिन्छ । खोज्दै गर्दा जंगलमा रहेको झार र पतिंगर माडिएको देखिन्छ । त्यहाँ नियालेर हेर्दा यौन क्रियाकलाप भएको जस्तो देखिन्छ । त्यसपछि खोजतलासमा सहभागीलाई आशंका भयो कि करुणाको आत्महत्या नभएर हत्या हुनुपर्दछ । त्यो पनि बलात्कारपछि । त्यसपछि सबै आश्चर्यचकित भए ।

करुणाको खोजी गर्दै गर्दा घना जंगलको बीचमा हाँगो तेश्रो परेको रुखमा फेरि अर्को कपडाका टुक्रा भेटिए । ती टुक्रा लेडिज सुरुवालका थिए । त्यसपछि पनि खोजी भइरह्यो । शंका लागेर वरिपरि खोज्दै जाँदा २ सय मिटर पर एक शव झुण्डिएको अवस्थामा देखियो । जहाँजहाँ खोजतलास भयो ती सबै ठाउँमा करुणाको साथी सुमनले नै लगेको पाइएको छ । शव सबैभन्दा पहिले त्यही सुमनले नै देखेको थियो । त्यसपछि सुमनले शव भएको स्थान देखाउँछ र प्रहरीसहितको टोली शव भएको स्थानमा पुग्छ । (प्रत्यक्षदर्शीको भनाई)

त्यहाँ सानो खोल्सो छ । खोल्सोको माथिपट्टी टेडोमेडो रुखमा तेश्रो परेको हाँगोमा सुरुवालको पासो बनाएर करुणा झुण्डिएको अवस्थामा थिइन् । त्यो देख्ने वित्तिकै बुबा आमा मुर्छित भए भने खोजतलासमा गएका सबैमा करुणाको सन्नाटा छायो । प्रहरीले सो सुमन भन्नेलाई शंकाको घेरामा राखि अनुसन्धानको लागि नियन्त्रणमा लियो । पीडित पक्षका अनुसार यी सबै गतिविधिमा प्रहरी त्यति संवेदनशिल नबनेको पाइएको छ । यो सबै गतिविधिपछि पीडित पक्षले जाहेरी दिँदा पनि प्रहरीले जाहेरी लिन नमानेको परिवारले बताएका छन् ।

घटनामा प्रहरी र पीडित पक्षको मत बाझिन्छ !

यी सबै गतिविधिमा करुणाकै संलग्नता रहेको र उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताउँदै आएको छ । यो प्रहरीको प्रारम्भिक अनुसन्धान हो । अझै पनि घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

यता परिवारले यसलाई षडयन्त्र भएको बताउँछन् । छोरीको हत्या गरेपछि बच्नको लागि हत्याराले यी सबै गतिविधि गरेको आमाबुबाको बुझाई छ । जंगलमा ठाउँठाउँमा करुणाका भित्री वस्त्र भेटिनु, जंगलमा सुताएको जस्तो देखिनुले करुणाको हत्या नै भएको पारिवारिक दाबी छ । अपराधीले सजिलोको लागि जंगलका रुख चहार्दै हत्या गरेपछि आत्महत्याको बाहना बनाउन सजिलो रुख खोज्दै हिँड्नु जस्तो देखिनु सबै हत्याका प्रमाण भएको छिमेकी बताउँछन् । तर यसमा कुनै संवेदना नदेखाएको आरोप पीडित पक्षले प्रहरीलाई लगाएका छन् ।

यता आरोपित सुमनका साथीले घटनाबारे कुनै पनि कुरा बाहिर लैजानेलाई ज्यान मार्नेसम्मको धम्की दिएको पीडित पक्षले मायादेवीलाई बताए । त्यसकारण पनि करुणाको मृत्यु काण्ड आजसम्म मिडियामा त्यति धेरै नआएको परिवारले बताए । करुणाको बलात्कार पछि नै हत्या भएको भन्दै दबाबस्वरुप इलाका प्रहरी कार्यालय सालझण्डीमा दुई दिन अगाडी धर्ना पनि दिएका छन् ।

आरोपित सुमन अहिले शंकाको घेरामा छन् । परिवारले सुमन र उसका साथीहरु मिलेरै बलात्कार गरेको र अपराधबाट चोखिन आत्महत्याको नाटक मंचन गरेको भन्दै मायादेवीसंग न्यायको भिख मागेका छन् । छिमेकीले पनि सुमनकै षडयन्त्रमा करुणाको हत्या भएको बताउँछन् । उनीहरुले यसमा प्रहरीले मिलिमतो गरी लुकाउन खोजेको आरोप लगाएका छन् ।

यदि अब पनि प्रहरी यस्तै गरी लाचारी बन्ने र सत्यतथ्य पत्ता लगाउन हिच्किचाउन खोज्ने हो भने चुप लागेर नबस्ने गाउँलेहरु बताउँछन् । यो घटना पनि निर्मलाको बलात्कारपछि भएको हत्याभन्दा कम खालको नभएको बताउँछन् । प्रहरीले सुमनलाई अहिले म्याद थप गर्दै हिरासतमा राखेको छ ।

सरसरती घटनाक्रमलाई नियाल्दा करुणाको आत्महत्या नभएर हत्या नै भएको जस्तो प्रमाण देखिन्छ । जंगलमा भेटिएका प्रमाणहरुले उनको हत्या मात्र नभएर बलात्कार पछि हत्या भएको सजिलै आशंका गर्ने ठाउँ बनेको छ । यस्तो स्थितिमा पनि साझलण्डी प्रहरीले अनुसन्धान हुँदै छ भन्दै घटना लड्काउनुलाई पनि सर्वसाधारणले शंकाको घेरामा राखेका छन् । यद्यपि यस घटनाको खास रहस्य भने सरकारी तवरबाट आउनै बाँकी छ ।

यता पीडित पक्षले स्थानीयस्तरमा थुप्रै मिडियाहरु भएपनि आफुहरुको आवाज सुन्दै नसुनेको दुखेसो पोखेका छन् ।

यस घटनाले उब्जाएका प्रश्नहरुः

#सुमनले करुणालाई राति किन बोलाए ?
#मध्यरातमा त्यो घनाजंगलमा करुणा एक्लै जान सक्थिन त ?
#करुणाको शव सुमनले देखाउनुपर्ने कारण के ?
#जंगलको बीचमा मान्छे आकारमा पातपतिङ्गर, झार कसरी माडिए ?
#मध्य रातमा त्यति अप्ठ्यारो रुखमा करुणाले कसरी पासो लगाइन् ?
#घटनास्थलमा पुरुषले लगाउने चप्पल किन भेटिए ?
#लगाएको सुरुवाल कसरी काटियो ?
#प्रहरीले बलात्कार पछि हत्याको जाहेरी लिन किन मानेन् ?
#बुटवलमा किन पोस्ट्मार्टम हुन् सकेन र काठमाडौं पठाइयो ?

हेर्नुहोस पूरा भिडिओ

प्रकाशित मिति : ६ भाद्र २०७७ शनिबार ००:००  ९ : ०६ बजे