११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तुमा निषेधाज्ञाको अवधि बढ्ला, या लकडाउनको मोडालिटीमा फेरबदल होला ?



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।


समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि कपिलवस्तुमा लागु गरिएको निषेधाज्ञा भदौ ७ गते अर्थात् भोलि राति १२ बजेबाट सकिँदै छ । अत्यावश्यकीय सेवाहरु औषधी तथा एम्बुलेन्स, तरकारी, किराना, खाद्यान्ह, ग्याँस, दूध ) इत्यादीको लागि पनि विहान ८ बजेदेखि १० बजेसम्म गरी जम्मा २ घण्टाको लागि मात्र संचालन अनुमति दिइएको छ ।

अहिले अरु ब्यापार, ब्यवसाय, बैङ्क तथा वित्तिय संस्था, सार्वजनिक सेवाका कामहरु, सार्वजनिक सवारीहरुमा आवतजावत लगायत सबै ठप्प छन् । यस्तो अवस्थामा जिल्लामा अब फेरि निशेधाज्ञाको समयावधि लम्बिन्छ या लकडाउनमा थप कडाई हुन्छ ? या लकडाउन खुकुलो हुन्छ भन्नेमा आम नागरिकको कौतुहलता छ ।

बिभिन्न पालिकामा धमाधम समुदायस्तरमा कोरोना फैलिएपछि लकडाउन खुकुलो हुने कुरो छैन तर यसको प्रकृति कस्तो गराउने भन्नेमा जिल्ला प्रशासन कार्यलयमा दिनहुँजसो छलफल भइरहेको छ । यसबारे भोली फेरि जिल्लाको विपद् व्यवस्थापन समितिको वैठक बसेर आवश्यक निर्णय लिने छ ।

जिल्लाको स्थिति यस्तो छ ।

सुरुदेखि अहिलेसम्म जिल्लाका १० पालिकामा १ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको रेकर्ड छ । त्यसमध्ये डिस्चार्ज भएका ८ सय ३५ बाहेक अरु १ सय ८३ जना अहिले कोरोना संक्रमित भई उपचाररत छन् ।

प्रतिशतमा हिसाब गर्दा अहिले जिल्लामा भारतबाट आएका ७८ प्रतिशत, समुदायस्तरका २० प्रतिशत र तेश्रो मुलकबाट आएका २ प्रतिशतमा कोरोना देखिएको छ । चैत्र ११ गतेपछि भएको लकडाउनपछि असारको आधा महिनासम्म कोरोना देखिएकामध्ये अधिकाँस भारतबाट आएका, त्यसपछि तेश्रो मुलकबाट आएका र नगन्य मात्रामा समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण भएको थियो । तर अहिले भने स्थिति ठिक उल्टंदै गएको छ ।

पछिल्लो पटक समुदायस्तरमा स्वाब संकलन भएर नतिजा आएका ८ सय २६ जनामध्ये ७२ जना समुदायस्तरका संक्रमित हुन् । त्यसपछि भारतबाट आएका र तेश्रो मुलुकबाट आएका नगन्य मानिसमा कोरोना देखिएको छ ।

अहिले जिल्लाका बिभिन्न पालिकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्कुले विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, सामाजिक कार्यकर्ता, बैङ्कर, कर्मचारी, ब्यापारी सबैलाई कोरोनाले छोएको छ । जिल्लाका ३१ जना सुरक्षाकर्मी कोरोना संक्रमित छन् ।

समुदायस्तरका ७२ जनाको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी ढंगबाट नहुनु, संक्रमितमध्ये २ जनाको मृत्यु हुनु, केही गम्भिर भई भेन्टिलेटर र आइसियूमा रहनु, संक्रमितहरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्नु आदि लक्षण देखिनुले अहिले जिल्लाको स्थिति भयावह नै देखिन्छ । जुन जिल्लाको लागि नै प्रमुख चुनौति हो ।

यस्तो अवस्थामा अब के होला त ?

माथि चर्चा गरिएअनुसार अब प्रशासनसमक्ष ३ विकल्प छन् । निषेधाज्ञा, पूर्ण लकडाउन अनि खुुकुलो लकडाउन । साउन ३२ गते प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यस्थापन समितिको वैठकले भदौ ७ गत राति १२ गतेसम्म निशेधाज्ञा गरेकोमा अबको वैठकले यसलाई निरन्तरता दिन्छ नै भन्न सकिन्न ।

तीज पर्वको मौका छोपी बदमासी हुने भयले नै निषेधाज्ञा गरिएको हो । जनइतरबाट पनि यसको विरोध भएको अवस्थामा अब निशेधाज्ञालाई निरन्तरता दिइन्न भन्ने बुझ्न सकिन्छ । त्यसैले अब हुने भनेको लकडाउनमा कडाई हो ।

प्रशासनले लकडाउनमा कडाई गर्दै दैनिक अत्यावश्यक पसलसंगै अब बन्द भएका अत्यावश्यक सार्वजनिक तथा बैङकिङ सेवाहरु संचालनको अनुमति दिन सक्छ भने होटल, सार्वजनिक तथा नीजि सवारी संचालनमा कडाई कायम हुन सक्छ । यता उद्योगी, ब्यवसायी र सर्वसाधारणको मनोविज्ञान बुझ्दा पनि कामकाज सुचारु गर्ने तर कोरोनासंग लड्ने नै रहेको देखिन्छ । त्यसैले पनि पूर्ण लकडाउन र निशेधाज्ञा जिल्लामा लागु नहुन सक्छ ।

अर्कोतर्फ कोरोना संक्रमणको आफ्नो जिल्लाको अवस्था हेरेर निषेधाज्ञा या कर्फयू लगाउन या अरु कुनै निर्णय गर्न गृहमन्त्रालयले सम्बन्धित जिल्लाका सिडिओलाई अख्तियारी दिएको अवस्थामा जिल्लाको अवस्था के हो ? यहाँ कस्तो निर्णय आवश्यक छ ? यसमा निर्णय गर्ने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको हातमा छ । त्यसैले उनले के गर्दछन् जनताले यही प्रतिक्षा गरिरहेका छन् ।

लकडाउन र निशेधाज्ञा गरेरै कोरोना नियन्त्रण हुन्छ भन्नेमा अब सरकार पनि छैन । सरकारका भनाई र प्रस्तुतिले पनि यही भन्छ । तर २ सय बढी कोरोना संक्रमण फैलिएको जिल्लामा भने सरकारले जतिखेर पनि जस्तोसुकै निर्णय लिन सक्छ ।

त्यसैले अब आंसिक लकडाउन गरी जनजीवन सहज बनाउनु नै अहिलेको विकल्प हो । बन्दै गरेर आर्थिक गतिविधि ठप्प पार्दा पनि रोगले भन्दा भोकले मर्ने डर भएकोले आर्थिक गतिविधि चलायमान गराउन पनि बजार, ब्यवसाय, उद्योगधन्दा संचालन गर्नुको विकल्प छैन भन्नेहरुको मत पनि समुदायमा बढी नै छ । त्यसैले पनि अब पूर्ण लकडाउन र निशेधाज्ञा हुँदैन भन्न सकिन्छ ।

यसो भन्दैमा थोरै पनि लापरबाही भयो भने जिल्लामा कोरोना नियन्त्रण बहिर जाने निश्चित छ । अहिले समुदायस्तरका प्रतिनिध पात्रहरु कोही पनि कोरोनाबाट अछुतौ छैनन् । यो जिल्लाको लागि जोखिमपूर्ण अवस्था हो ।

त्यसैले कोरोनाबाट बच्न ब्यापार व्यवसाय हुने स्थानमा अनिवार्य रुपमा सामाजिक दुरी कायम गराउन, अनावश्यक रुपमा बाहिर निस्कन नदिन, अनिवार्य मास्क लगाउने बानी पार्न प्रशासनले बल नै प्रयोग गर्नु पर्ने स्थिति देखिन्छ । सर्वसाधारणले पनि यी कुरालाई इमान्दारपूर्वक पालना गर्ने हो भने मात्र जिल्लाबाट कोरोनालाई भगाउन सकिन्छ ।

तर लकडाउन पनि खुकुलो बनाउने, जनताबाट लापरबाही पनि हुने हो भने जिल्लाले नसोचेको स्थित नभोग्ला भन्न सकिन्न । खुला सिमाना भएका स्थानमा कडाइ नहुने, सिमामा विशेष निगरानी नबढाउने, पालिकाहरुमा आइसोलेसन र क्वारेनटाइनको व्यवस्थापन गर्ने कुरामा विपद् व्यवस्थापन समितिले थोरै पनि लापरबाही गर्यो भने या चुक्यो भने ठुलो मुल्य चुकाउनु पर्ने स्थितिमा कपिलवस्तु छ । समाचार विश्लेषण ।

प्रकाशित मिति : ६ भाद्र २०७७ शनिबार ००:००  ३ : ५० बजे