११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कोरोनाको कारण थप २ जनाको मृत्यु, चितवनमा २२ नयाँ संक्रमित थपिए



काठमाण्डौँ ।
चितवन र वीरगंजमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका(१३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार मृत्यु भएको हो। मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिए।

उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ।अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।

उता ट्राभल हिस्ट्री नै नभएका एक कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु भएको छ।

वीरगञ्ज–१५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिला प्रशासन कार्यालय पर्साले जनाएको छ।उनको उपचारको क्रममा बिहीबार साँझ पौने ७ बजे नारायणी कोभिड १९ वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो। ज्वरो र खोकीले ग्रसित ती पुरुषको बुधबार स्वाब संकलन गरि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै चितवनका थप २२ जनासहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा विहीवार गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो । यस्तै भरतपुर अस्पतालमा उपचाररत १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७ शुक्रबार ००:००  ८ : ३२ बजे