१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आज नारीहरुको महान चाड हरि तालिका तीज, बाहिर नाच गानको रौनक छैन



मायादेवी अनलाइन, चार नम्बर ।

आज नेपाली नारीहरुको महान चाड हरि तालिका तीज । देशभर नै नारीहरुले व्रत बसेर तीज मनाउँदै छन् । नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ। परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरू निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन्।

दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ। दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठामीठा परिकार खाने चलन छ। तीजको दर खान विशेष गरी माइतीले छोरीचेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा पाइन्छ।

हरितालिका व्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएकाले तीजको व्रतको महत्व बढेको हो। त्यसैले राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीजको व्रत बस्ने गरेको देखिन्छ। स्कन्ध, लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक कथा र आख्यानलाई आत्मसात गर्दै सांस्कृतिक सञ्जीवनीले पनि यो पर्व ओतप्रोत छ।
आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।

तर यसपटकको भने विगतका बर्षहरुमा जस्तो रमाइलो र चहलपहल छैन । कारोनाको विश्व महामारीका कारण बिभिन्न जिल्लामा लक डाउन र निशेधाज्ञा छ । यसले गर्दा मानिस कोही पनि बाहिर निस्किएर नाचगान गर्ने लगायतको रमाइलो हुने छैन । उता तीजको दिन सदै भीँड हुने काठमाण्डौँको पशुपति नाथमा पनि आज भीडभाड रोक लगाइएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७७ शुक्रबार ००:००  ६ : ०६ बजे