१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

तरकारी थोक बजारबाट कोरोना संक्रमण फैलिने त्रास



बुटवल ।
समुदायस्तरमै कोभिड-१९ को संक्रमण फैलिएपछि रुपन्देही प्रशासनले मंगलबारदेखि नै जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर बुटवल उपमहानगरपालिका आफैं सञ्चालक सदस्य रहेको जिल्लाकै ठूलो थोक तरकारी बजारमा भने प्रशासनको निषेधाज्ञाकै खिल्ली उडाइएको छ ।

संक्रमणको जोखिमलाई बढाउने गरी यहाँ भीडभाड हुने गर्दछ । भारतका विभिन्न ठाउँबाट आयात गरिएका तरकारी र फलफूल बिक्री हुने बुटवल कृषि उपज थोक बजारमा निषेधाज्ञाको समयमा पनि सयौं उपभोक्ता र व्यापारीको भीड लाग्दा स्थानीयवासी संक्रमण फैलिन सक्ने भन्दै त्रसित बनेका छन् ।

दैनिक करिब दुई करोड रुपैयाँको कारोबार हुने यो बजारमा ७० भन्दा बढी तरकारी र फलफूल पसल छन् । तरकारी र फलफूल बोकेर भारतीय ट्रकका चालक र मजदुर थोक बजारसम्मै आउने गर्छन् । नेपालका पनि धेरै जिल्लाबाट यहाँ तरकारी आउने गर्छ । यसले गर्दा यो तरकारी बजार कोभिड-१९ संक्रमण हुन सक्ने जोखिमयुक्त ठाउँ हो ।

तर उपमहानगरपालिका र थोक बजार सञ्चालक समितिले बजारमा सामाजिक दुरी कायम गराउन, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गराउन चासो दिएको छैनन् ।

तरकारी र फलफूल किनमेलका लागि जम्मा भएका उपभोक्ता र ब्यापारीबीच ठेलमठेलको अवस्थाले कोरोना संक्रमण फैलिने चिन्ता स्थानीयमा छाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७ बुधबार ००:००  ६ : ०३ बजे