कैलाली ।
अछाम कैलास खोलामा आएको बाढीले २२ वटा घर बगाएको छ। कम्तीमा १९ जना बेपत्ता भएका छन् ।अहिलेसम्म चारजनाको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्र सिंह थापाले जानकारी दिए।
बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
उता बर्दियामा बबई नदीमा ठूलो बाढी आएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।महाशाखाले बर्दिया, कैलालीको चिसापानी र टिकापुर तथा कञ्चनपुरका केही ठाउँमा राति ठूलो पानी परेको र अहिले पनि पर्ने क्रम चलिरहेको भन्दै दिउँसो १२ बजेसम्म नै बबईसहित कान्द्रा, मोहना, खुट्टिया, स्याउली, चौधर लगायतका नदीमा एक्कासि बाढी आउने भएकाले तटीय क्षेत्र र डुबान भैरहने ठाउँका बासिन्दालाई सुरक्षित बस्न अनुरोध गरेको छ ।
यस्तै डडेलधुराको रंघुन–पन्टुरागाड नदी जलाधारमा राति निकै ठूलो पानी परेकाले महाकाली दोभानसम्मको क्षेत्रमा ठूलो बाढी आउने भएकाले बिहान १० बजेसम्म नै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया