बिष्णु कुमार आले, अर्घाखाँची ।
छिमेकी जिल्लाका समुदायमा कोरोना संक्रमण फैलिएपछि जिल्लालाई सुरक्षित राख्न भदौ ३ गते देखि भदौ १० गते बेलुका ६ बजे सम्मका लागि पूर्णरूपमा बन्दाबन्दी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा मंगलबार बसेको सर्वदलीय बैठकले चाडपर्वका बेला हुने सर्वसाधारणको बाक्लो आवत जावतलाई रोक्न यस्तो निर्णय गरेको हो ।
छिमेकी जिल्लाहरूबाट बाक्लो सर्वसाधारणहरू जिल्लामा भित्रिने र जिल्लाबाट पनि अन्य जिल्लामा बिना काम जानेक्रम बढेका कारण मंगलबार बसेको सर्वपक्षीय बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए ।
साथै बैठकले बिना काम माक्स नलगाई चाडपर्वका बेला बजारमा हिड्डुल गर्ने, बाक्लो भिड गर्ने, समुहमा तीजको गीत गाएर नाचगान गर्नेलाई कारवाही गरिने समेत निर्णय गरेको छ । तीजको बेला अनावश्यक भीडभाड नगर्न, आ–आफ्नो घरमा परिवारसँग रमाईलो गर्न, बाहिर समूहमा घुलमेल नगर्न अनुरोध गरिएको छ ।
अटेर गरेको पाईएमा कानुन अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । भदौ ३ गते देखि एक सातासम्म अति आवश्यक बाहेक अन्य गाडिहरू नचल्ने भएका छन् । अर्घाखाँचीमा पनि समुदायमा कोरोना फैलिन सक्ने संभावना रहेकाले जिल्ला बासी निकै सचेत र चनाखो हुन आग्रह गरिएको छ ।
प्रतिक्रिया